नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र पूर्व सांसद सन्तोष परियारबीच पाँच बुँदे सहमति


काठमाडौं — देशमा देखिएको गम्भीर आर्थिक–राजनीतिक सङ्कट, बढ्दो भ्रष्टाचार, नातावाद–क्लाइवाद र राजनीतिक दलभित्रको व्यापक अवैध प्रवृत्तिमाथि उभिएको ‘जेनजी आन्दोलन’को पृष्ठभूमिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियारबीच पाँच बुँदे सहमति सम्पन्न भएको छ।


सहमतिपत्रमा नेपालले विगतका सबै मुक्ति आन्दोलनदेखि पछिल्लो जेनजी आन्दोलनसम्म बलिदान भएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइते तथा बेपत्ता योद्धाप्रति सम्मान जनाएको छ। उनीहरूका सपनालाई पूरा गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।


सहमति अनुसार, एकता तथा ध्रुवीकरणका लागि गठन हुने नयाँ एकीकृत राजनीतिक पार्टीको नाम र चुनाव चिन्ह एउटै राखिने छ। साथै आउँदो मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम आयोजना गरिने उल्लेख छ।

सहमति दस्तावेजले देश–विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्तिहरू—विशेषगरी जेनजी पुस्तालाई—राजनीतिक पुनर्संरचनाको बृहत् अभियानमा सहभागी हुन आह्वान गरेको छ।

त्यस्तै, सहमतिपत्रले देशमा मौलाएको भ्रष्ट, अनैतिक तथा अहंकारी प्रवृत्तिलाई निर्वाचन प्रक्रियामार्फत पराजित गर्न नयाँ तथा वैकल्पिक शक्ति, युवा पुस्ता र नवआन्दोलनकर्ताहरूबीच हातेमालो आवश्यक रहेको निष्कर्ष निकाल्दै संयुक्त अपिल गरेको छ

प्रतिक्रिया