आइतबारदेखि देशभर वर्षाको सम्भावना, सोमबार झन् बढी

काठमाडौं, वैशाख १३ — देशका विभिन्न स्थानमा आइतबार (वैशाख १४)देखि वर्षा शुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोसीदेखि गण्डकी प्रदेशसम्म वर्षाको सम्भावना बढी रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।

महर्जनका अनुसार आइतबार बिहानदेखि नै आकाशमा बादल लाग्नेछ र दिउँसो पानी पर्ने सम्भावना छ। सोमबार (वैशाख १५) आइतबारको तुलनामा अझ बढी वर्षा हुने अनुमान गरिएको छ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिन थालेपछि पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने बताइएको छ।

"भोलि हल्का वर्षा हुन सक्छ भने पर्सि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ," मौसमविद् महर्जनले बताइन्। गण्डकीदेखि पश्चिमसम्म पनि केही स्थानमा वर्षा हुने भए पनि कोसीदेखि गण्डकीसम्मको प्रभाव बढी हुने महाशाखाले उल्लेख गरेको छ।

हाल नेपालमा प्रिमनसुन अवधि चलिरहेको हुँदा पश्चिमी र स्थानीय वायु सक्रिय हुँदा अपराह्नतिर वर्षाको सम्भावना बढ्ने महर्जनले स्पष्ट पारिन्।

काठमाडौं उपत्यकामा पनि आइतबार खण्डित वर्षाको सम्भावना रहेको र सोमबार तुलनात्मक रूपमा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ।

यसअघि वैशाखको पहिलो साता पनि यस्तै प्रणालीको कारण देशभर वर्षा भएको थियो। यसपटक पनि बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिएर पश्चिमी वायु सक्रिय हुने भएकाले केही घण्टासम्म झरी पर्ने र रोकिने क्रम चलिरहने बताइएको छ।

वर्षासँगै हाल देखिएको प्रचण्ड गर्मी केही घट्ने मौसमविद्को भनाइ छ।

📰 स्रोत: आमा दर्शन न्यूज
✍️ संवाददाता:

प्रतिक्रिया