पोखरा, कास्की – Aama Darshan News
पोखरा महानगरपालिका–२७ स्थित नेपाल विद्युत् प्राधिकरण तालचोक वितरण केन्द्रका कर्मचारीहरूमाथि मध्यरातमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गरिएको छ। पछिल्ला केही दिन यता तालचोक क्षेत्र र वरपरका स्थानहरूमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध भएपछि स्थानीयको चासो बढेको थियो। सोही सन्दर्भमा कर्मचारीहरूको कामप्रति लापरवाही भएको आशंका गर्दै मापसे चेक गरिएको हो।
स्थानीय स्रोतका अनुसार चेकजाँचको क्रममा केही कर्मचारी कार्यस्थलमै निदाएको अवस्थामा भेटिएका थिए भने केहीमाथि मादक पदार्थ सेवन गरेको शंका गरिएको छ।
“रातभर लोडसेडिङजस्तो अवस्था भयो, बारम्बार बत्ती जाँदा समस्या भयो। यस्तो गम्भीर जिम्मेवारीमा बसेका कर्मचारी मापसे गरेर बसेको देख्दा दुःख लाग्छ,” एक स्थानीय बासिन्दाले Aama Darshan News सँग प्रतिक्रिया दिए।
विद्युत् प्राधिकरण स्रोतका अनुसार मापसे परीक्षणबाट पुष्टि भएमा सम्बन्धित कर्मचारीलाई अनुशासनात्मक कारबाही गरिनेछ। कार्यालय प्रमुखले भने, “हामी जिम्मेवार संस्थाका कर्मचारी हौँ। यस्तो लापरवाही कतैबाट स्वीकार्य छैन। अनुशासन उल्लंघन गर्नेलाई आवश्यक कारबाही हुनेछ।”
नेपाल विद्युत् प्राधिकरणले कार्यस्थलमा मादक पदार्थ सेवन पूर्ण रुपमा निषेध गरिएको स्पष्ट पार्दै यस्तो गतिविधिलाई कडाइका साथ नियन्त्रणमा लिइने जनाएको छ।
यस घटनाले स्थानीयस्तरमा सेवा प्रवाहमा देखिएको कमजोरीप्रति पुनः ध्यानाकर्षण गराएको छ। सम्बन्धित निकायले अबका दिनमा नियमित अनुगमन र कडाइका साथ शृंखलाबद्ध परीक्षण गर्ने तयारी गरेको बुझिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता