फिलिपिन्समा ‘बाढी नियन्त्रण घोटाला’ : ३३ हजार प्रदर्शनकारी सडकमा, ४९ जना गिरफ्तार


काठमाडौं ।फिलिपिन्समा ‘बाढी नियन्त्रण घोटाला’ उजागर भएपछि देशव्यापी आन्दोलन भड्किएको छ । भ्रष्टाचारविरुद्धको अभियान सामाजिक सञ्जाल हुँदै सडकसम्म फैलिँदा राजधानी मनिला तनावग्रस्त बनेको छ ।

निर्माण व्यवसायमा संलग्न प्रशान्त र सारा डिस्काया दम्पतीमाथि सार्वजनिक आक्रोश चुलिएको छ । सामान्य पृष्ठभूमिबाट धनी बनेका उनीहरूले ३६ वटा विलासी गाडी देखाएको भिडियो बाहिरिएपछि करदाताको पैसामा विलासी जीवन बिताएको आरोप थप तीव्र बनेको हो ।

राष्ट्रपति फर्डिनान्ड बङबङ मार्कोस जुनियरले बाढी नियन्त्रणका लागि बनेको बाँध नै अस्तित्वमा नभएको पत्ता लगाएपछि घोटाला उजागर भएको हो । सार्वजनिक कोषको करिब ७० प्रतिशत रकम दुरुपयोग भएको सरकारी तथ्यांक सार्वजनिक भएपछि उच्च पदस्थ राजनीतिज्ञहरूले राजीनामा दिनु परेको छ भने ठेकेदारहरूमाथि अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति भवननजिक झडप

आइतबार राष्ट्रपति भवनतर्फ जाने सडकमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ । ढुंगा, बोतल र पेट्रोल बम प्रहार गरेको आरोपमा प्रहरीले ४९ जनालाई गिरफ्तार गरेको छ । झडपमा करिब ७० जना प्रहरी घाइते भएका छन् भने विद्यालयहरू बन्द गरिएको छ ।

मनिलाको ऐतिहासिक पार्क र प्रजातन्त्र स्मारकमा ३३ हजारभन्दा बढी प्रदर्शनकारी भेला भएर भ्रष्टाचारविरुद्ध नाराबाजी गरिरहेका बेला झडप सुरु भएको थियो ।

जनआवाज र धार्मिक नेतृत्वको अपिल

विद्यार्थी नेतृ अल्थिया त्रिनिडाडले भनिन्, “गरिबीमा बाँचिरहेका मानिसहरूले घर, जीवन र भविष्य गुमाइरहेका छन् तर राजनीतिज्ञहरूले जनताको करबाट विलासी जीवन बिताइरहेका छन् । यसले हामीलाई पीडा दिएको छ ।”

फिलिपिन्स क्याथोलिक विशप्स सम्मेलनका प्रमुख कार्डिनल पाब्लो भर्जिलियो डेभिडले जनतालाई शान्तिपूर्णरूपमा प्रदर्शन गर्न र जवाफदेहिताको माग निरन्तर राख्न आग्रह गरेका छन् ।

पृष्ठभूमि

गत जुलाईमा ‘स्टेट अफ द नेसन’ सम्बोधनका क्रममा राष्ट्रपति मार्कोसले घोटालाको विषय सार्वजनिक गरेका थिए । त्यसपछि बनेको स्वतन्त्र आयोगले सन् २०२२ देखि हालसम्म करिब ९ हजारभन्दा बढी परियोजनामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

यस घटनापछि फिलिपिन्समा राजनीतिक तथा सामाजिक अस्थिरता बढ्दै गएको छ भने भ्रष्टाचारविरुद्धको आन्दोलन अझै तीव्र हुने संकेत देखिएको छ ।

प्रतिक्रिया