काठमाडौँ महानगरपालिकाको निर्देशन: खुद्रा तथा थोक व्यवसायहरूलाई अनिवार्य नियम पालना गर्न सूचित

काठमाडौँ, – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै खुद्रा तथा थोक व्यापार व्यवसायहरूलाई आफ्नो पसलबाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरू सम्बन्धमा विशेष नियमहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। व्यवसायीहरूले मूल्य पारदर्शिता, उपभोग म्याद, र वस्तुको गुणस्तर सुनिश्चित गर्दै उपभोक्ताहरूको अधिकारलाई मध्यनजर गर्नुपर्ने महानगरले जनाएको छ।

महानगरपालिकाद्वारा जारी सूचनामा व्यवसायीहरूले निम्न प्रावधानहरू पालना गर्नुपर्ने स्पष्ट गरिएको छ:

१. मूल्य सूचीको प्रदर्शन: पसलको अगाडि सबै ग्राहकले देख्न सक्ने गरी मूल्य सूची राख्नुपर्नेछ।

२. अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी नलिनु: कुनै पनि सामान अङ्कित अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्न पाइने छैन।

३.म्याद बाँकी भएको मात्र सामान बिक्री: उपभोग म्याद समाप्त नभएका वस्तु मात्र बिक्री गर्न अनिवार्य गरिएको छ।

४.गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्ने: खाद्य, पेय पदार्थ तथा अन्य उपभोग्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता सुनिश्चित गर्न व्यवसायीलाई निर्देशन दिइएको छ।

महानगरपालिकाले सूचनाको उल्लङ्घन गर्ने व्यवसायीहरूविरुद्ध कानूनी कारबाही गरिने चेतावनीसमेत दिएको छ। अनुगमनका क्रममा कुनै पनि अनियमितता भेटिएमा तत्काल कानूनी प्रक्रिया अगाडि बढाइने उल्लेख छ। उपभोक्ताहरूलाई गुणस्तर, मूल्य र उपभोग म्यादको जानकारी लिएर मात्र सामान खरिद गर्न आग्रह गरिएको छ।

अन्य कुनै समस्या वा उजुरीको लागि उपभोक्ताहरूलाई ११८० मा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया