नेपाल प्रहरीमा ६ एआईजीको बढुवा सिफारिस, रिक्त पदहरू एक महिनापछि भरिँदै

गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।

बढुवा सिफारिसमा परेका अधिकारीहरूमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।

हाल खापुङ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा, आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्। त्यस्तै, कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालयमा र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्।

यी सबै अधिकारीहरू हालका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाका ब्याचमेट हुन्।

३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन आईजीपी वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरू अनिवार्य अवकाशमा गएपछि ६ वटा एआईजी पद रिक्त भएका थिए। तर, राजनीतिक समिकरण र रस्साकस्सीका कारण करिब एक महिनासम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन।

एआईजी नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभागहरू नेतृत्वविहीन बनेका थिए, जसले संगठनको नीति निर्माणदेखि सञ्चालनसम्म प्रभाव पारिरहेको थियो।

गृह मन्त्रालयको सिफारिस पछि अब प्रहरी संगठनको नेतृत्व व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया