काठमाडौं: आज देशका केही भूभागमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका केही भागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।


दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने र हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।


काठमाडौंमा हल्का वर्षाको सम्भावना

काठमाडौंमा दिउँसो २/३ बजेपछि हल्का वर्षा हुनसक्ने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिएका छन्। दिनभर बदली रहने भएकाले जुनसुकै बेला हल्का वर्षा हुने सम्भावना रहेको छ।


तापक्रम र चिसोको अवस्था

बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ भने दिउँसो तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। बदली र वर्षाका कारण काठमाडौंमा चिसो बढ्ने सम्भावना रहेको छ।


राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि विभागले जनाएको छ।

प्रतिक्रिया