जोमसोम—प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रको रानीपौवा बसपार्कदेखि मुक्तिनाथ प्रवेशद्धारसम्म आईतबार पूर्ण सरसफाई गरिएको छ । धार्मिक स्थलक्षेत्रको वातावरणलाई स्वच्छ,सुन्दर र वातावरणमैत्री तुल्याउन ३ जना अभियान्ताहरुको पहलमा मुक्तिक्षेत्रको बसपार्कदेखि प्रवेशद्धारसम्म पूर्ण सरसफाई गरिएको हो ।
वारागुङ मुक्तिक्षेत्र—१ झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अघिकारी,निलगिरी उपभोक्ता सहकारी संस्था (विद्युत शाखा)का कर्मचारी दिपेन्द्र थापामगर र बसपार्क स्थित छिरिङ खाजाघरका प्रोपाईटर लाक्पा शेर्पाको पहलमा मुक्तिक्षेत्रमा पूर्ण सरसफाई गरिएको हो । उनीहरुसहित थप अतिरिक्त २ जना जनशक्तिलाई पारिश्रमिक दिने गरी बसपार्कदेखि मुक्तिनाथ प्रवेशद्धारसम्म सरसफाई गरेका हुन् ।
सरसफाई अभियानकर्ताहरुले बसपार्कदेखि प्रवेशद्धारसम्मको क्षेत्रमा अनाधिकृत छरपस्ट कुहिने फोहोरलाई खाल्डो खनी पुरेका छन् भने नकुहिने फोहोरलाई जलाएर नष्ट गरेका छन् ।
मुक्तिनाथ बसपार्क क्षेत्रदेखि प्रवेशद्धारसम्म भक्तजनहरुले जथाभावी फोहोर मिल्काउने गर्दा मुक्तिक्षेत्रको सौन्दर्यतामा असर परेको थियो वातावरणमा समेत नकारात्मक प्रभाव परेको थियो । सरसफाईमा खटिएका अभियान्ता सुवास अधिकारीले मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुलाई जथाभावी फोहोर नफाल्न अनुरोध गरेका छन् ।
यसअघि वारागुङ मुक्तिक्षेत्र —१ वडाले पनि मुक्तिक्षेत्रमा फोहोर व्यवस्थापनमा पहल गर्दैआईरहेको थियो । अनुकुल मौसम भएकाले अहिले दैनिक १ हजार पर्यटकले मुक्तिनाथका दर्शन गर्ने गरेका छन् ।