आगामी वैशाखदेखि दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला पुनः सञ्चालनमा आउने भएको छ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा अग्निहोतृशाला सञ्चालन गर्न लागिएको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए। अग्निहोतृको अभावका कारण दुई वर्षदेखि बन्द रहेको यो शाला अब नयाँ अग्निहोतृ नियुक्त भएपछि पुनःसञ्चालन हुन लागेको हो।

विगतमा गौशालाका गौतम थरका अग्निहोतृहरूले यो शाला सञ्चालन गर्दै आएका थिए। तर, परिवारमा अग्निहोत्र सम्बन्धी ज्ञान भएका कोही नभएकाले शाला बन्द भएको थियो। अग्निहोतृ परिवारकी डा‍. माया गौतमका अनुसार पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको थियो।

अग्निहोतृशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति पूजा गर्ने व्यवस्था समेत मिलाइने भएको छ। नयाँ अग्निहोतृको नियुक्ति भइसकेको र आगामी वैशाखदेखि पूजाआजा तथा धार्मिक कार्य पुनः सञ्चालन गरिने सदस्यसचिव थापाले बताए।

धार्मिक तथा परम्परागत दृष्टिले महत्वपूर्ण मानिने यो शाला पुनः सञ्चालनमा आउनु सांस्कृतिक रुपमा समेत महत्वपूर्ण उपलब्धि हुने धार्मिक विद्वान्हरूको धारणा छ।

प्रतिक्रिया