ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’माथि पूर्ण प्रतिबन्ध

ब्राजिलको सर्वोच्च अदालतले सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटरका रूपमा परिचित) माथि पूर्ण प्रतिबन्ध लगाएको छ। यो निर्णय एक्सले ब्राजिलका लागि कानूनी प्रतिनिधि नियुक्त गर्न असफल भएपछि आएको हो। सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेण्डर डी मोरेसले एक्सलाई तत्काल प्रभावबाट निषेध गर्ने आदेश दिएका छन्।

सन् २०२४ को अप्रिलमा एक्सले गलत सूचना प्रवाह गरेको आरोपमा अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको सुनुवाइका क्रममा अदालतले धेरैजसो एक्स अकाउन्टहरू बन्द गर्न आदेश दिएको थियो। यस निर्णयलाई एक्सका मालिक एलन मस्कले राजनीतिक स्वार्थका आधारमा गरिएको भन्दै आलोचना गरेका थिए।

अदालतले एक्सलाई कानूनी प्रतिनिधि नियुक्त गर्नका लागि समय दिएको भए पनि, एक्सले उक्त निर्देशनको पालन गर्न असफल भएको कारणले अदालतले प्रतिबन्धको आदेश जारी गरेको हो। आदेशअनुसार, पाँच दिनपछि ब्राजिलमा कुनै पनि माध्यमबाट एक्स प्रयोग गर्न सकिने छैन। साथै, अदालतले एप्पलको एप स्टोर र गुगल प्लेस्टोरबाट पनि एक्स एप हटाउन निर्देशन दिएको छ। यदि कसैले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर एक्स चलाएको पाइएमा ५० हजार अमेरिकी डलर जरिवाना हुने चेतावनी पनि अदालतले दिएको छ।

यो प्रतिबन्ध तबसम्म लागू हुनेछ जबसम्म एक्सले ब्राजिलमा कानूनी प्रतिनिधिको नियुक्ति नगर्दासम्म र यसअघि तोकिएका जरिवाना नतिरेसम्म।

प्रतिक्रिया