ट्रम्पको शेयर बजारमा चलखेल? अमेरिकी सिनेटमै उठ्यो गम्भीर प्रश्न

✍ रिपोर्ट: सूर्य राय, आमा दर्शन न्यूज

वाशिंगटन डीसी, अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हाल आएर गम्भीर आरोप लागिरहेको छ। उनले व्यक्तिगत लाभको लागि शेयर बजारमा अनैतिक चलखेल गरेको भन्दै अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लगानीकर्तालाई कम्पनीको शेयर खरिद गर्न उक्साउने खालका पोस्ट गरेपछि विवाद सुरु भएको हो। उनले "यो खरिद गर्नको लागि एक महान समय हो!" भन्दै पोस्ट गरेपछि ट्रम्पकै कम्पनी डिजेटी (DJT) को शेयर मूल्य एकैदिनमा २२ प्रतिशतले वृद्धि भयो।

त्यसको केही घण्टापछि ट्रम्पले अधिकांश देशमाथिको ट्यारिफ ९० दिनको लागि स्थगन गर्ने घोषणा गरे — जसको बजारमा सीधा प्रभाव पर्यो।

यस घटनालाई लिएर क्यालिफोर्नियाका डेमोक्र्याट सेनेटर एडम सिफले अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (SEC) समक्ष ट्रम्पविरुद्ध तत्काल अनुसन्धानको माग गरेका छन्।

 राष्ट्रपति ट्रम्प कानुनभन्दा माथि हुन सक्दैनन्," सिफले भने। "उहाँको यो व्यवहार इन्साइडर ट्रेडिङको स्पष्ट संकेत हो।"

२० जना सिनेटरहरूले सभामुख माइक जोन्सनलाई पत्र लेखी संसदमा छानबिनको माग गरेका छन्। विपक्षी सांसदहरूको आरोप छ — ट्रम्पले राष्ट्रपति रहँदा पनि आफ्नो कम्पनीको शेयरमा प्रभाव पार्ने रणनीति अपनाउँदै आएको प्रमाण भेटिन सक्छ।

विश्लेषकहरूका अनुसार, यदि यी आरोप पुष्टि भए, ट्रम्पमाथि कानुनी कारवाही हुन सक्नेछ — जसको असर उनको राजनीतिक भविष्यमा समेत देखिन सक्छ।

यस बिषयमा ट्रम्प पक्षले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

अन्तर्राष्ट्रिय बजारमा असर ट्रम्पका यस्ता क्रियाकलापले अमेरिका मात्र नभई सम्पूर्ण विश्वको शेयर बजारमा अनिश्चितता बढाएको छ। लगानीकर्ताहरू झन् सतर्क भइरहेका छन्, र विश्लेषकहरू बजारको अस्थिरतामा ट्रम्पको प्रत्यक्ष संलग्नता देखिरहेका छन्।



🗓 आमा दर्शन न्यूज का लागि,
सूर्य राय

प्रतिक्रिया