वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोक्किँदा पोटोम्याक नदीमा खस्यो

वाशिङ्टन  – वाशिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागिरहेको एउटा यात्रुवाहक विमान आकाशमै अमेरिकी सेनाको हेलिकप्टरसँग ठोक्किँदा पोटोम्याक नदीमा खसेको छ।

फ्लाइट 6725 नामक अमेरिकन एयरलाइन्सको बोइङ ७३७ विमान क्यान्सास राज्यको विचिटाबाट उडान भरेको थियो। विमानमा ६० यात्रु र चालक दलका ४ सदस्य सवार थिए। दुर्घटनापछि उद्धार कार्य तीव्र पारिएको छ।

संघीय नागरिक उड्डयन निकाय (एफएए)का अनुसार दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे भएको हो। प्रारम्भिक रिपोर्टअनुसार, उक्त हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ मोडलको थियो, जसमा तीन जना सैनिक सवार थिए।

एक अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार हेलिकप्टरमा कुनै वरिष्ठ सैन्य अधिकारी थिएनन्। रोएटर्सलाई जानकारी दिएका अर्का अधिकारीका अनुसार हेलिकप्टरमा सवार सैनिकहरूको अवस्था अज्ञात छ।

गंभीर मौसमका कारण उद्धारमा चुनौती

वाशिङ्टन डीसीमा तापक्रम निकै कम भएकाले उद्धारकार्य कठिन भएको छ। अमेरिकी तटरक्षक बल र स्थानीय उद्धारकर्मीहरू दुर्घटनास्थलमा खटिएका छन्।

अमेरिकी उड्डयन तथा सैन्य अधिकारीहरूले दुर्घटनाको विस्तृत छानबिन थालिसकेको बताएका छन्। दुर्घटनाको कारण तत्काल स्पष्ट भइसकेको छैन, तर प्रारम्भिक अनुमान अनुसार दुबै विमान एकअर्कालाई देख्न नसक्ने परिस्थितिमा थिए।

यस घटनाले अमेरिकी उड्डयन सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया