डायलाइसिस मेसिन ल्याउन सफल

जनसहभागिताबाट सफल भएको कीर्तिपुर अस्पतालको डायलाइसिस अभियान


जनसहभागिताका विभिन्न चरणमा भएका छलफल र निरन्तरको सामूहिक प्रयासपछि गत जेठ २५ गते कीर्तिपुर अस्पतालमा चन्दा तथा जनसहयोगबाट डायलाइसिस मेसिन थप्ने अभियान अघि बढाइएको थियो। त्यसक्रममा जेठ २२ गते नगरप्रमुखज्यूको आगमनपछि समुदायले उहाँको स्वागत गर्दै एउटा ठूलो आशा गरेको थियो—अब कीर्तिपुर अस्पताललाई साँच्चिकै जनताको अस्पताल बनाउन कसैले रोक्ने छैन।

तर परिस्थितिले हामीले सोचेअनुरूप गति लिन सकेन। नगरप्रमुखज्यूले थप डायलाइसिस मेसिनका लागि दिनुभएको वचन व्यवहारमा कार्यान्वयन हुन सकेन। जनताको प्रत्यक्ष सरोकार र स्वास्थ्यजस्तो संवेदनशील विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने समयमा उहाँ जापान भ्रमणमा जानुभयो। जनताले निर्वाचित प्रतिनिधिबाट अपेक्षा गरेको जिम्मेवारी र पदको गरिमाअनुसारको सक्रियता त्यतिबेला देखिन सकेन भन्ने समुदायको गुनासो रह्यो।

त्यसपछि पनि विषय रोकिएन। विभिन्न कार्यक्रममा ‘दिन्छु’, ‘बजेट छुट्याउँछु’ भन्ने दाबीहरू सार्वजनिक भए। तर पछि असार २३ गते अन्तिम समयमा उल्लेख गरिएको बजेटसमेत नयाँ प्रतिबद्धताअनुसारको अतिरिक्त बजेट नभई जलन उपचार तथा सहजीकरणका लागि पहिले नै विनियोजित बजेटसँग सम्बन्धित रहेको देखियो। यसले जनतामा थप प्रश्न र असन्तुष्टि जन्मायो।

तर समुदाय चुप लागेन।

बैठकहरू निरन्तर भए। छलफल चलिरह्यो। अस्पताल प्रशासन, अभियानमा संलग्न व्यक्तिहरू र स्थानीय समुदायबीच निरन्तर समन्वय र प्रयास भइरह्यो। अन्ततः राजकमल, राममानलगायत अस्पतालको निरन्तर प्रयास तथा अभियानमा जोडिएका सबैको सक्रियताबाट दुई महिनाको ढिलाइपछि भए पनि हिजो, २०८३ श्रावण ३१ गते, डायलाइसिस मेसिन थप गर्ने हाम्रो प्रयास सफल भएको छ।

यस सफलताको श्रेय कुनै एक व्यक्तिको मात्र होइन। यो जनसहभागिता, निरन्तर दबाब, संवाद, सहकार्य र सामूहिक इच्छाशक्तिको परिणाम हो। यद्यपि, मेरो व्यक्तिगत धारणा भनेको यस अभियानलाई निरन्तर अघि बढाउन विशेष भूमिका निर्वाह गर्नुभएका राजकमलजीलाई विशेष धन्यवाद दिनुपर्छ भन्ने हो। उहाँसँगै राममानजी, अस्पतालका सम्बन्धित व्यक्तिहरू, अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सबै साथीहरू र यस अभियानप्रति ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण कीर्तिपुरवासीप्रति हार्दिक आभार व्यक्त गर्दछु।

अब हाम्रो यात्रा यहाँ टुंगिनु हुँदैन।

कीर्तिपुर अस्पताल जनताकै अस्पताल बन्नुपर्छ।

यो कुनै व्यक्ति वा दलको स्वार्थको विषय होइन; यो आम कीर्तिपुरवासीको स्वास्थ्य अधिकार र साझा सरोकारको विषय हो। त्यसैले अब हामी सबैले एक मत भएर कीर्तिपुर अस्पताललाई जनउत्तरदायी, गुणस्तरीय, पहुँचयोग्य र विश्वासिलो अस्पताल बनाउने दिशामा अघि बढ्नुपर्छ।

डायलाइसिस सेवासँगै न्युरो सेवा, हृदय रोगको उपचार तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवाहरू पनि कीर्तिपुरमै विस्तार हुनुपर्छ। जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार राख्छन्। त्यसैले सेवा विस्तारसँगै गुणस्तर, पारदर्शिता, उत्तरदायित्व र जनविश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता कीर्तिपुर अस्पतालले लिनुपर्छ।

आजको यो सफलता एउटा मेसिन थपिएको उपलब्धि मात्र होइन;

यो जनताको आवाज निरन्तर उठिरह्यो भने परिवर्तन सम्भव छ भन्ने प्रमाण पनि हो।

आउनुहोस्, अब हामी सबै मिलेर एउटै संकल्प गरौँ—

कीर्तिपुर अस्पताल जनताकै अस्पताल बनाऔँ।

स्वास्थ्य सेवामा कीर्तिपुरलाई आत्मनिर्भर बनाऔँ।

जनताको आवाजलाई निर्णयको आधार बनाऔँ।

जय बाघभैरव!

प्रतिक्रिया