काठमाडौं, अामा दर्शन न्यूज |
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा संघीय सांसद विराज भक्त श्रेष्ठले सरकारद्वारा सार्वजनिक गरिएको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई बासी, पुनरावृत्तिमूलक र नवप्रवर्तनविहीन भएको भन्दै कडा आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले अहिलेको आर्थिक संकटपूर्ण अवस्थामा जनतामा आशा र उत्साह जगाउने खालको नयाँ योजना आउनुपर्नेमा नीति तथा कार्यक्रमले विगतका वर्षहरूमै सीमित भएर यथास्थितिको दोहोरोलाई मात्र निरन्तरता दिएको टिप्पणी गरे।
“अर्थतन्त्रमा गम्भीर शिथिलता छ, तर नीति तथा कार्यक्रममा त्यो समाधान गर्ने कुनै स्पष्ट खाका छैन,” सांसद श्रेष्ठले भने, “नवीनता, इनोभेसन वा भविष्यदृष्टिमा आधारित रणनीति देखिँदैन। २१औँ शताब्दीअनुकूल केही पनि प्रस्तुत गरिएको छैन।”
श्रेष्ठले नीति दस्तावेजमा ‘जेन जेड’ पुस्ताको उल्लेख गरिएको भए पनि वर्तमानमा विश्व ‘अल्फा जेनेरेसन’तर्फ अघि बढिसकेको उल्लेख गर्दै नीति निर्माणकर्ताहरू अझै समय सापेक्ष सोचबाट टाढा रहेको संकेत गरे।
उनले हालको सरकारी सेवाको सुधार, पूर्वाधार विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माण जस्ता विषयवस्तु उचित रूपमा समेटिन नसकेको भन्दै नीति दस्तावेजलाई “पुरातन शैलीको सामान्य प्रयास”मा सीमित भएको बताए।
“सूचना प्रविधिको सामान्य चर्चा गरिए पनि त्यो पनि सतही र रंगरोगन जस्तो मात्र देखिन्छ,” उनले स्पष्ट पारे, “विश्व आर्थिक रूपान्तरणको संघारमा छ, तर हामी अझै पनि अनुदानमा भर पर्ने रणनीतिमा अल्झिरहेका छौं।”
श्रेष्ठले नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनबीच सधैं गहिरो असमानता रहने गरेको उल्लेख गर्दै बजेट कार्यान्वयनका क्रममा अझै चुनौती थपिने चेतावनी पनि दिए।
थप समाचार र अपडेटका लागि हामीलाई पछ्याउनुहोस् — [www.aamadarshannews.com]
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता