आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ
क्यानडामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल ओमानविरुद्ध खेल्न लागेको छ। खेल क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ-वेस्ट मैदानमा राति पौने ९ बजे सुरु हुनेछ।
नेपाल र ओमानबीच एकदिवसीय फर्म्याटमा यो आठौं खेल हो। यसअघिका सात खेलमध्ये ओमानले चार खेलमा जित निकालेको छ भने नेपालले तीन खेलमा मात्र जित दर्ता गरेको छ।
सन् २०२० मा पहिलो पटक नेपाल र ओमानबीच कीर्तिपुरमा एकदिवसीय खेल भएको थियो, जसमा नेपाल १८ रनले पराजित भएको थियो। त्यसपछि पनि नेपालले ओमानविरुद्धका खेलहरूमा मिश्रित प्रदर्शन गर्यो। सन् २०२१ मा ओमानमा भएको सिरिजमा नेपालले एक खेलमा ५ विकेटको हार बेहोरेको थियो भने अर्को खेलमा ७ विकेटको जित निकालेको थियो।
सन् २०२२ मा अमेरिका भएको अर्को सिरिजमा पनि दुवै टिमले एक-एक खेलमा जित र हार साटासाट गरेका थिए। टेक्सासमा भएको पहिलो खेलमा नेपाल १३ रनले पराजित भएको थियो, तर दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो।
सबैभन्दा ताजा प्रतिस्पर्धा भने सन् २०२३ को अप्रिलमा भएको एसिसी प्रिमियर कपमा देखिएको थियो, जहाँ नेपालले ओमानलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यो खेलमा नेपालले ३१० रन बनाएको थियो, जसमा कुशल मल्लको १०८ रन महत्त्वपूर्ण योगदान थियो।
लिग-२ मा दुवै टोलीको प्रदर्शन पनि उतार-चढावयुक्त रहेको छ। नेपालले पाँच खेल खेल्दा ओमानले चार खेल खेलिसकेका छन्, र दुवै टोलीले समान रूपमा एक-एक खेलमा मात्र जित हात पारेका छन्।