प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट बर्खास्त गरेका छन्। बालुवाटार स्रोतका अनुसार बुधबार मन्त्री तामाङलाई बर्खास्त गरिएको हो।

तामाङले प्रधानमन्त्री ओलीका केही निर्णयहरूमा खुलेर असहमति जनाउँदै आएका थिए। विशेषगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयमा उनले मन्त्रिपरिषद बैठकमै विमति जनाएका थिए।

उनको यही अडानका कारण ऊर्जा मन्त्री दीपक खड्का र तामाङबीच निरन्तर विवाद देखिएको थियो। एकपछि अर्को निर्णयमा असहमत हुँदै आएका तामाङलाई प्रधानमन्त्री ओलीले सुरुदेखि नै हटाउने सोच बनाएका थिए।


स्रोतअनुसार बुधबार गृहमन्त्री रमेश लेखकमार्फत प्रधानमन्त्री ओलीले तामाङलाई राजीनामा दिन आग्रह गरेका थिए। तर तामाङले राजीनामा दिन अस्वीकार गरेपछि उनलाई पदबाट हटाइएको हो।


तामाङ नेपाली कांग्रेसका नेता हुन् र पार्टी सभापति शेरबहादुर देउवाका निकटस्थ मानिन्छन्। उनी २०७९ सालको निर्वाचनमा रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका थिए।

थप जानकारी आउँदैछ।

प्रतिक्रिया