काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ वर्षको उमेरमा निधन भएको छ। आइतबार राति १२:१५ बजे काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।
शेर्पालाई कलेजोसम्बन्धी समस्या देखिएपछि गत सातादेखि अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर, चिकित्सकहरूको सबै प्रयास असफल हुँदै गएपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
फोटोग्राफी र पर्यटनमा महत्वपूर्ण योगदान
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१, लुक्लाका स्थायी बासिन्दा शेर्पाले नेपालका वन्यजन्तु, हिमाली क्षेत्र तथा जैविक विविधताको उत्कृष्ट फोटोग्राफी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका थिए। उनले नेपालका विभिन्न दुर्गम स्थानमा पुगेर दुर्लभ वन्यजन्तु तथा प्राकृतिक सौन्दर्यलाई क्यामेरामा कैद गरेका थिए।
शेर्पाले लामो समय पर्यटन व्यवसायमा समेत संलग्न रहँदै नेपालको प्रकृति र वन्यजन्तुको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेका थिए।
राजनीति र समाजसेवामा पनि सक्रिय
शेर्पा नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत थिए। उनी नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति तथा चौँरीखर्कका पूर्व गाविस अध्यक्ष पनि रहेका थिए।
शेर्पाको निधनले नेपाली फोटोग्राफी, पर्यटन, राजनीति तथा समाजसेवा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उनका दुई छोरा र तीन छोरी रहेका छन्।
उनको अन्तिम संस्कारबारे पारिवारिक निर्णय पश्चात् जानकारी गराइने बताइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय