कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिए

बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन्। कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन्। 

नेकपा (एमाले) का उपनेता समेत रहेका रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री भएका छन्। 

उनीहरू दुवैले शपथ ग्रहण गरेका छन्। उनीहरू बिनाविभागीय मन्त्री नियुक्त भएका थिए।

बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए। बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो।

साथै निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही अघि बढाउन नदिन मागसहित सर्वोच्च अदालत पुगेका छन्। उनले अन्तरिम आदेशको माग गर्दै रिट दिएका छन्।

उनले प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठनको आह्वान गरेको भन्दै आफैँलाई नै यथावत रूपमा काम गर्न परमादेश दिन माग गरेका छन्।

प्रतिक्रिया