श्री भाइलाल महर्जन(पर्यटन व्यवसायी) : एक परिचय

कीर्तिपुर निवासी भाइलाल महर्जन होटल व्यवसाय, पर्यटन प्रवर्द्धन र समाजसेवामा समर्पित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।  करिब तीन दशक लामो अनुभव बोकेर उहाँ, अहिले पर्यटन र सांस्कृतिक संरक्षणमा सक्रिय हुनुहुन्छ ।

वि.सं. २०३१ साल असार ५ गते बुबा स्व. श्री भाइराम महर्जनको आँगनमा आमा श्रीमती विष्णुकुमारी महर्जन ज्युको कोखबाट संसार दृष्यालोकन गर्न आउनु भएको हो । उहाँले आफ्नो जीवनको सम्पुर्ण जिम्मेवारी श्रीमती बबिता महर्जन ज्युमा समर्पण गरि पुत्र बिनिभ महर्जनको लाभ एवम् सुख प्राप्त गर्नु भएको छ । त्यही सुखलाई भाइ नरेश महर्जन तथा बहिनीहरू निलकुमारी महर्जन र निर्मला महर्जन बीच पर्वको रुपमा बाँडफाँड गर्दै रमाउँदै आउनु भएको छ । उहाँ कीर्तिपुर साबिक ६ हाल ३ नं. वडाका स्थायी निवासी हुन् । 

उहाँले Public Youth Campus बाट व्यवस्थापन संकायमा स्नातक तहको शिक्षाले आफुलाई सुसज्जित पार्नु भएको छ । जीवनमा उहाँले आफ्नो पेशागत थप शिक्षा Summit Hotel, कुपन्डोल, ललितपुरमा वेटरको रूपमा प्रारम्भ गर्नुभयो । २५ वर्षसम्म सोही होटलमा सेवा दिँदै उहाँ Restaurant Manager र Banquet Manager सम्मको पदमा उन्नति हासिल गर्नुभयो । त्यसपछि एक वर्षसम्म उहाँले Kathmandu Guest House, ठमेलमा Food & Beverage Manager को जिम्मेवारी सम्हाल्नुभयो । हाल उहाँ Yuloko Guest House, स्वयम्भूमा Operation Manager को रूपमा कार्यरत हुनुहुन्छ ।

पर्यटनमैत्री भोजनालयको खाँचो महसुस गर्दै उहाँले कीर्तिपुरको क्वाचोस्थित उमामहेश्वर मन्दिर नजिकै Temple View Restro & BBQ सञ्चालनमा ल्याउनु भएको छ । यस रेस्टुरेन्टले कीर्तिपुर भ्रमण गर्न आउने विदेशी पाहुनालाई स्थानीय संस्कृति र आतिथ्य भावसँग जोड्ने महत्त्वपूर्ण योगदान दिइरहनु भएको छ । यो कीर्तिपुरकै गर्व गर्न लायक यथार्थता मध्येको एक हुन् । आफुसँग भएको शैक्षिकतासँगै त्यसबाट प्राप्त अनुभवलाई समाजमा निछावर गर्नुहुने कीर्तिपुरले एक सच्चा सपूत पाउनु नै हो । 

उहाँको जीवनलाई विगततिर अलिक फर्केर हेर्दा राजनीति र समाजप्रति उत्तरदायी भएको मनन गर्न सकिन्छ । व्यवसायिक क्षेत्रमा मात्र सीमित नभई महर्जन सामाजिक र राजनीतिक योगदानमा पनि अग्रसर रहनुभएको छ । वि.सं. २०५४ सालमा उहाँ कीर्तिपुर नगरपालिका वडा नं. ६ को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । Plan International सँगको संलग्नता मार्फत बाटोमा इँटा छाप्ने कार्यदेखि लिएर बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने अभियानसम्ममा सक्रिय सहभागिता जनाउनु भएको थियो । उहाँको अनेक काम मध्येको एक समल टोल झिन्निदा तँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष भई ऐतिहासिक तँ पुनःनिर्माण गर्न सफल सम्झिन लायक काम हुन् । उहाँ एकताका नयाँ बजार क्लबको केन्द्रीय समितिमा बसेर विभिन्न सामाजिक कार्यमा संलग्न हुनुहुन्थ्यो भने हाल उहाँ उक्त क्लबको साधारण सदस्य हुनुहुन्छ  ।

महर्जनको जीवनको लक्ष्य भनेको सफल पर्यटन व्यवसायीका रूपमा स्थापित हुनुका साथै कीर्तिपुरको सांस्कृतिक सम्पदा र परम्परागत बाजागाजालाई जगेर्ना गर्दै पर्यटन विकासमा योगदान पुर्याउनु रहेको छ । 

अन्तमा, होटल व्यवसायमा अनुकरणीय सफलता हासिल गर्नुका साथै समाज र संस्कृतिप्रति निरन्तर उत्तरदायित्व वहन गर्दै आउनुभएका भाइलाल महर्जन आज कीर्तिपुरको मात्र होईन्, सम्पूर्ण देशकै पर्यटन र सांस्कृतिक प्रवर्द्धनका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा उभिनुभएको छ । कीर्तिपुर आउने विदेशी पर्यटकहरुले नाक खुम्च्याउने काम उहाँबाट कदापि हुनेछैन् । कीर्तिपुरलाई विश्वमा आफ्नो अनुभव र सीप शिक्षाले चिनाउने अठोटमा हुनुहुन्छ । समाज, यस्ता गर्विलो आँटिलो जनमानसको साथमा सदा उभिनुपर्छ । श्री भाइलाल महर्जन जस्तो हसिलो, मिजासिलो, मेहनती युवाशक्तिमा, सदा सबै प्रेरित भै समर्पित हुनुपर्छ । आत्मीय जिम्मेवार भएको नाउँ भाइलाल अंश मात्र होईन् कीर्तिपुरकै वंश हो । आफु स्वयमले आफ्नो लागि रोजगार उत्पादन मात्र गरेनन् अरुलाई पनि स्वरोजगार हुनुपर्छ सिकाउने प्रेरणादायी नाम मध्येको एक नाम भाइलाल महर्जन हुन् । युवा विदेश पलायन हुने रोगको अन्त्य र समुदाय सशक्तीकरणको पर्यायवाची पनि हुन् । 

प्रतिक्रिया