काठमाडौं, — देशभर पश्चिमी वायुको प्रभावसँगै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको असर पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार यी प्रणालीहरूको प्रभावले देशका केही स्थानमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने देखिएको छ।
शुक्रबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा नै रहनेछ। महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
आज राति पनि कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भू-भागमा आंशिक बदली भए पनि मौसम मुख्यतः सफा नै रहने अपेक्षा गरिएको छ।
देशभरका नागरिकलाई मौसममा हुने परिवर्तनबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Aama Darshan News