पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले साउन महिनामा २७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। साउन १ देखि ३२ गतेसम्मको अवधिमा २२ पुरुष र ५ महिला गरी कुल २७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार, पक्राउ परेकाहरू अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका थिए। पक्राउ परेकामध्ये १३ जना चेक अनादार मुद्दामा, ५ जना लागूऔषध मुद्दामा, ३ जना चोरीसम्बन्धी मुद्दामा, २ जना सार्वजनिक अपराध मुद्दामा, २ जना आगो लगाएको सम्बन्धी मुद्दामा, र २ जना लेनदेन बिगो सम्बन्धी मुद्दामा रहेका छन्।
डीएसपी शर्माले पक्राउ परेकाहरूबाट २ लाख १० हजार ८२५ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको जानकारी दिए।
प्रहरीले कानूनको परिधिभित्र रहेर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।
३३ साउन २०८१, शनिवार ०३:०४ मा प्रकाशित