जोमसोम - हिमाली जिल्ला मुस्ताङका अधिकांश मानिसहरु बुद्ध धर्ममा अगाध आस्था र विश्वास राख्छन् । गुरु पद्यसम्भव अर्थात् गुरु रिन्पोर्छेको पालादेखि मुस्ताङमा बुद्ध धर्मको सुरु भएको थियो । मुस्ताङका थकाली,बिष्ट,गुरुङ र ल्होवा समुदायका मासिनहरुले बुद्ध धर्म मान्ने गर्छन् ।
मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा बुद्धिस्ट धर्म कथामा आधारित ऐतिहांसिक ,धार्मिक र सांस्कृतिक पर्व ‘ध्योक्योप’ नाच देखाइने प्रचलन छ । मुस्ताङको ढुम्बा,मार्फा,स्याङ र टुकुचेका विभिन्न गुम्बाहरुमा बर्सेनि तिब्बतीयन पात्रो अनुसार पालैपालो ‘ध्योक्योप नाच देखाउने गरिन्छ ।
बुद्ध धर्ममा आधारित धार्मिक पर्व ‘ध्योक्योप’को अवसरमा विभिन्न देवीदेवता र राक्षसहरुको मुकुट पहिरिएर गुम्बाका लामाहरुले सामूहिक लाखे अर्थात् ‘ध्योक्योप’ नाच देखाउने गर्छन् । यसै क्रममा सोमबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बाको कुछप तेरङ्गा गुम्बामा ऐतिहांसिक तथा धार्मिक पर्व ‘ध्योक्योप’ नाच देखाइएको छ ।
बुद्ध धर्म परम्परा अनुसार देखाईने यसप्रकारको ‘ध्योक्योप नाचको दर्शन तथा अवलोकन गर्नाले मानिसहरुलाई धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ । ‘ध्योक्योप’ नाच हेर्नाले मानव शरीरको भित्री आत्मालाई स्वर्ग पु¥याउने बुद्धिस्ट धर्ममा उल्लेख छ । बुद्धिस धर्म ग्रन्थमा उल्लेख गरिएअनुसार बर्सेनि हरेक गुम्बाहरुमा देखाईने एक पटक देखाइने धार्मिक पर्व ‘ध्योक्योप’ अवलोकन गर्नाले मानिसको आध्यात्मिक क्षमताको विकास गर्न उर्जा प्रदान गर्ने कुछप तेरङ्गा गुम्बाका लामा सुवास थकालीले जानकारी दिए ।
‘ध्योक्पोप’ पर्व नाचलाई तिब्बतीयन भाषामा ‘छम’ पनि भन्ने गरिन्छ । यो पर्व भारत वर्षमा पनि मनाइने गरिएको थियो । हिमाली क्षेत्रमा गुरु पद्यसम्भवको पालादेखि निरन्तर रुपमा ‘ध्योक्योप’ नृत्य देखाइँदै आइरहेको लामा थकालीको भनाइ छ । ध्योक्योप पर्व बौद्ध धर्मको तन्त्र ज्ञानसँग सम्बन्धित छ । ध्योक्योप हिमायान र महायान गरी दुई थरीको भएपनि महायान अन्तर्गत ध्योक्योप नाच देखाइने चलन रहेको लामा थकालीले उल्लेख गरे । उनले कुछप तेरङ्गा गुम्बामा ३ दिनसम्म लामाहरुबाट धार्मिक पुजापाठ गरी ध्योक्योप पर्व सुरु गरिएको जानकारी दिए ।
संसारिक दुनियामा मानिसको एक पटक जन्मिएर मृत्युवरण गर्नुपर्ने हुन्छ । मानिसको मृत्युपछिको अवस्थामा विभिन्न दृष्यहरु प्रकट हुने र त्यस अवस्थामा कुन भगवान के हो कुन भगवानले रक्षा गर्छन् भन्ने आदी भगवानसँग परिचित हुन ध्योक्योप नाच देखाइने गरिएको ठिनीका स्थानीय निरज थकालीले जानकारी दिए । ध्योक्योपमा जोमसोम आसपास क्षेत्रका लामाहरु उपस्थित हुने गर्छन् । लामाहरुले पुस्तक पढ्ने, विभिन्न स्थानीय उत्पादनका परिकारहरुको पिठोलाई मुछेर पुजा सामाग्री निर्माण गर्ने र लामाहरु स्वंम देवी देवता र राक्षसको मुकुट पहिरिएर ईष्ट देवताको गतिविधिलाई ध्योक्योप नाचको रुपमा प्रस्तुत गर्ने थकालीको भनाई छ ।
ध्योक्योप पर्व अवलोकन र गुरुहरुको दर्शनले मानिसहरुको विध्नवाधा ,अवरोध र नराम्रो पक्ष सबै मेटाइदिने भएकाले ध्योक्योप पर्व प्रति स्थानीयको जनविश्वास बढेको हो ।
मुस्ताङको मार्फामा बज्रकिलिया नामक ध्योक्योप देखाइने चलन छ भने स्याउ,टुकुचे र ढुम्बा गुम्बामा कर्क ध्योक्योप देखाइने गरिन्छ ।यसरी यहाँका गुम्बामा देखाईने ध्योक्योप तिब्बतीयन पात्रो अनुसार फरक फरक मितिमा देखाइने चलन छ । यसरी प्रत्येक गुम्बाहरुमा यसरी फरक फरक मितिमा देखाइने ध्योक्योपमा लामाहरुले ३ दिनसम्म सामुहिक पुजापाठ गर्छन भने ध्योक्योप देखाउँदा पनि लामाहरुको सामूहिक पुजापाठ चलिरहन्छ ।
मुस्ताङको जोमसोमदेखि तलको थाकखोला क्षेत्रमा बुद्धिस्ट धर्म अनुसार बर्सेनि ध्योक्योप पर्वमा नृत्य र पुजापाठ हुने गरेको घरपझोङ—५ वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिए ।‘ यो पर्वलाई धर्म संस्कृति र पर्वको रुपमा अपनाइएको छ ,यहाँका मासिनले बुद्ध धर्ममा अगाध आस्था राख्छन् ,थकालीले भने,‘यो पर्व धार्मिक हिसाबले एकदमै महत्वपूर्ण छ ,यसले हिमाली क्षेत्रको धार्मिक कलासंस्कृतिलाई जिवन्त तुल्याएको छ ।’
नराम्रोलाई राम्रो पक्षले कुल्चिने भएकाले ध्योक्योप नाच हेर्नाले सबै ग्रहदशा हटाएर लैजाने बताईन्छ । ध्योक्योपमा गुम्बाका लामाहरुले गुरु पद्यसम्भव स्वंयम् उपस्थित भएको उनलाई चेलाहरुले स्वागत गरेको नाटकीय कथाका साथै विभिन्न देवीदेवता र राक्षसका नाचलाई कलात्मक रुपमा प्रस्तुत गरिने गरिन्छ ।
घरपझोङ–५ ठिनीका स्थानीय दिनेशकुमार थकालीले विगतका वर्षहरु झै यसवर्ष पनि कुछप तेरङ्गा गुम्बा ध्योक्योप पर्व मनाईएको बताए । ध्योक्योपमा गुम्बा संरक्षण तथा व्यवस्थापन समितिबाट हरेक गाउँका नागरिकलाई निमन्त्रणा गर्ने गरिन्छ । भोजन र प्रसादको व्यवस्था पनि गुम्बाले गरेको हुन्छ । ध्योक्योप अवलोकन गर्न गएका भक्तजनहरुले गुम्बालाई गक्ष अनुसार दान पैसा दिएर सहयोग गर्छन ।
मानिसले मृत्युवरण गरिसकेपछि नर्कलोकमा विभिन्न रुपमा छल गर्न राक्षसहरुसँग जम्काभेट हुने र ति राक्षसरुपी आत्मालाई ध्योक्योप हेरेपछि त्यस्तो रुपमा देखिएको स्वरुप देवताको रुपमा प्रकट हुने जनविश्वास रहेको थकालीले सुनाए ।
समुन्द्री सतहदेखिको ३८ सय मिटर अग्लो उचाइमा अवस्थित कुछ्प तेरङ्गा गुम्बामा ध्योक्योप अवलोकन गर्न जोमसोम आसापास गाउँहरुबाट उल्लेख्य भक्तजनहरुको उपस्थित रहेको थियो । गुम्बामा ध्योक्योप अवलोकनका लागि गएका सर्वसाधारण निकै उत्सुकतपूर्वक देवीदेवताको नाच नियालिरहेका देखिन्थे ।
गुरु पद्यसम्भवसँग कथासँग जोडिएको कुछप तेरङ्गा गुम्बा झन्डै ६ सय वर्ष पुरानो मानिन्छ । सो गुम्बाको धार्मिक पुजाआजामा ढुम्बातालको जल चढाउने गरिन्छ ।