काठमाडौं, साउन १८ — विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता तथा शान्तिको वातावरणलाई थप सुदृढ बनाउन सम्पूर्ण नेपालीसँग एकजुट हुन आग्रह गरेको छ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत समाजले नेपाल भगवान् बुद्धको जन्मभूमि, भगवान् शिवको तपोभूमि तथा बहुधार्मिक सहअस्तित्वको अनुपम भूमि भएको उल्लेख गर्दै विश्वलाई शान्ति, करुणा र मानवताको सन्देश दिने नेपालको ऐतिहासिक पहिचानलाई संरक्षण गर्नु सबै नेपालीको साझा दायित्व भएको जनाएको छ।
समाजले पछिल्लो समय धर्म वा आस्थाका नाममा देखिएको असहिष्णुता, सामाजिक तनाव र विभाजनकारी प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धर्मको वास्तविक उद्देश्य प्रेम, करुणा, सत्य, क्षमा, सहिष्णुता र शान्तिको प्रवर्द्धन गर्नु रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा नेपाल सरकारसँग सबै धर्मका धार्मिक अगुवा, विद्वान्, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा राष्ट्रिय संवाद तत्काल सुरु गर्न आग्रह गरिएको छ। साथै सनातन, बौद्ध, किराँत, इस्लाम, क्रिश्चियन, सिख, जैनलगायत सबै धर्म तथा आस्थाका अनुयायीलाई एकअर्काको विश्वास, परम्परा र संस्कृतिको सम्मान गर्दै सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई थप बलियो बनाउन आह्वान गरिएको छ।
समाजले आवश्यकता परे निष्पक्ष, समावेशी र शान्तिपूर्ण संवादको सहजीकरण तथा समन्वयमा पूर्ण सहयोग गर्न तयार रहेको जनाएको छ।
विज्ञप्तिको अन्त्यमा सम्पूर्ण नेपालीलाई घृणा, हिंसा र विभाजनभन्दा माथि उठेर प्रेम, सहिष्णुता, पारस्परिक सम्मान र मानवताका साझा मूल्यलाई आत्मसात् गर्न आग्रह गरिएको छ। साथै “हामी पहिले नेपाली हौं” भन्ने राष्ट्रिय भावनालाई व्यवहारमा उतार्दै नेपाललाई पुनः विश्वसामु शान्ति, सहअस्तित्व र अध्यात्मको केन्द्रका रूपमा स्थापित गर्न सबै पक्षलाई हातेमालो गर्न अपिल गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार