जोमसोम ,
जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय—प्रहरी साझेदारी अवधाराण अन्तर्गत सोमबार मुस्ताङको थासाङ—२ कोवाङमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । स्थानीय नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले प्रहरीले नागरिक सुनुवाई आयोजना गरेको बताईएको छ ।
थासाङको कोवाङ स्थित धौलागिरी युवाक्लवको भवनमा मुस्ताङ प्रहरीले नागरिक सुनुवाई आयोजना गरेको हो । स्थानीय नागरिकहरुको गुनासो व्यवस्थापन र शान्ति सुरक्षा सुव्यवस्थित तुल्याउने गरी जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रदान गर्दै आएको सेवा र महत्वपूर्ण चाडपर्वको बेला प्रहरीले खेल्नुपर्ने बिषयमा नागरिक सुनुवाईमा महत्वपूर्ण छलफल भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले जानकारी दिए । प्रहरी सेवाको भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कानसहितको सेवालाई प्रभावकारी बनाउन र जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमले टेवा पू¥याउने गाउँपालिका उपाध्यक्ष सोमल हिराचनले उल्लेख गरे ।
नागरिकले प्राप्त गर्ने शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, सवारी दुर्घटना न्यूनीकरण,सामाजिक अपराध र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा छलफल भएको बताईएको छ ।
प्रहरीको नागरिक सुनुवाई स्थानीय नागरिकले प्रहरीको कार्यसम्पादन र भूमिकाका विषयमा उठाएका जिज्ञासाहरुको प्रनाउ पाण्डेले प्रतिउत्तर पेश गरेका थिए । कार्यक्रममा चालु आर्थिक वर्ष मुस्ताङ प्रहरीले गरेका कार्यसम्पादनका बिषयमा प्रनाउ पाण्डेले प्रस्तुतीकरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रनाउ पाण्डेको अध्यक्षतामा भएको नागरिक सुनुवाई जनप्रतिनिधि,आमा समुह ,युवा क्लव र स्थानीय नागरिक गरी ६३ जनाको उपस्थिती रहेको थियो । नागरिक सुनुवाई प्रहरी चौकी कोवाङ र ईलाका प्रहरी कार्यालय लेतेका सुरक्षा ईकाईको उपस्थिती रहेको थियो ।