काठमाडौं । महान् हिन्दू पर्व बडादशैंको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डा देवीको वैदिक विधिपूर्वक पूजा–आराधना भइरहेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन विशेष विधिपूर्वक देवीको पूजा गर्ने परम्परा रहिआएको छ ।
धार्मिक विश्वासअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन किसिमका तापलाई कुष्मा भनिन्छ । यी ताप नाश गरी शरणमा आएका भक्तजनलाई कल्याण दिने भएकैले देवीलाई कुष्माण्डा नामकरण गरिएको मानिन्छ । विभिन्न पुराणहरूमा कुष्माण्डा देवीले सुराले भरिएको घडा र रगतयुक्त पात्र धारण गर्ने उल्लेख पाइन्छ ।
यसअघि घटस्थापनासँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको विशेष पूजा भइरहेको छ ।
नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायतका स्तोत्रको पाठ गर्ने चलन छ । नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा–आराधना गर्ने परम्परा छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद वितरण गरी १५ दिनसम्म नेपालीहरूले बडादशैं पर्व धूमधामका साथ मनाउने गर्छन् ।
📸 फोटो : काठमाडौंस्थित दशैं घरमा आज कुष्माण्डा देवीको पूजा आराधना गर्दै भक्तजन
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय