काठमाडौं – प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले २०७८ साउन १३ गतेको संसद् बैठकमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा तोकिएको प्राथमिकता र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता बताउँदै लगानीको वातावरण बनाउने, विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने र जनशक्ति पलायन रोक्ने मुख्य चार बुँदालाई प्राथमिकतामा राखेका छन्। सांसद ढकालले यो प्राथमिकता सही भएको बताउँदै यसलाई समर्थन गरे।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीति आर्थिक शिथिलता चिर्न र कर्जा विस्तारलाई सहयोग पुर्याउने विश्वास सांसद ढकालले व्यक्त गरे। उनले बैंक दरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको कदमलाई ब्याजदर घटाउन सहजता प्रदान गर्ने बताए। चालु पूँजी कर्जा मार्गदर्शन अवधि थपले व्यवसायीहरूलाई राहत पुर्याएको भन्दै सांसद ढकालले लचिलो मौद्रिक नीतिको स्वागत गरे।
सांसद ढकालले भने, “प्रधानमन्त्रीज्यूले तोक्नुभएको प्राथमिकता सही छ र म यसको स्वागत गर्दछु। यसैको जगमा नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिलाई पनि निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ।”
प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले प्रधानमन्त्रीको दृष्टिकोण र नेपाल राष्ट्र बैंकको नयाँ नीतिलाई समर्थन गर्दै यो नीति व्यवसायीहरूलाई राहत दिने र अर्थतन्त्रलाई सुदृढ पार्ने विश्वास व्यक्त गरे।#Aama Darshan News Media
@aamadarhamanews