साना बचतकर्तालाई रकम फिर्ता सुरु, ३७८ जनाले पाए बचत



समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको छ। समितिले पहिलो चरणमा तीन सहकारी संस्थाका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ।


समितिका अनुसार कान्तिपुर सहकारी का २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारी का १ सय ५६ जना तथा पशुपति सहकारी का ७ जना साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्।


समितिले पहिलो दिन न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको जनाएको छ। आगामी दिनमा भने बचत रकमका आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ।


समितिका अनुसार समस्याग्रस्त सहकारीमा आबद्ध करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी बचत गर्नेहरूलाई ‘ठूला बचतकर्ता’का रूपमा वर्गीकरण गरिएको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको समितिले जनाएको छ।


यसैबीच, प्रतिभा रावल ले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली कार्यलाई पनि तीव्र बनाइएको जानकारी दिइन्। उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरिएपछि ऋण तिर्ने क्रम बढेको छ।


समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ। ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने समितिले जनाएको छ।

प्रतिक्रिया