तीनकुने घटनाको अध्ययन गर्न नेपाल पत्रकार महासङ्घद्वारा सात सदस्यीय समिति गठन

काठमाडौं, चैत १६ – नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमा भएको आक्रमणको विस्तृत अध्ययन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको छ।


महासङ्घको राजधानीमा बसेको उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले महासङ्घका उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा महासङ्घका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेका छन्।


समितिले घटनास्थलको स्थलगत अध्ययन गर्दै सञ्चारगृहमा भएको क्षति, पीडित पत्रकार तथा प्रत्यक्षदर्शीसँगको छलफलमार्फत घटनाको वास्तविकता पत्ता लगाउने जिम्मेवारी पाएको छ। संयोजक बागचन्दका अनुसार समितिले संकलित विवरणका आधारमा महासङ्घलाई आवश्यक सिफारिससहितको प्रतिवेदन पेश गर्नेछ।


शुक्रबार तीनकुने क्षेत्रमा पूर्वराजा समर्थक समूहले प्रदर्शनका क्रममा आगजनी, तोडफोड तथा अराजक गतिविधि गरेका थिए। प्रदर्शनकै क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो भने कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आक्रमण भएको थियो।


नेपाल पत्रकार महासङ्घले घटनाको भर्त्सना गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाका लागि सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

प्रतिक्रिया