जापानको उत्तरपूर्वी तटमा 7.6 म्याग्निच्युडको भूकम्प, 90 हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प आएको छ। 7.6 म्याग्निच्युडको कम्पनपछि जोखिमयुक्त क्षेत्रमा रहेका करिब 90 हजारभन्दा बढी स्थानीयवासीलाई तत्काल सुरक्षित स्थानतर्फ सार्न आदेश दिइएको अधिकारीहरूले जनाएका छन्।


जापान मौसम विभागका अनुसार भूकम्प स्थानीय समयअनुसार राति 11:15 बजे, आइतामा प्रदेशको तटदेखि करिब 80 किलोमिटर टाढा तथा 50 किलोमिटर गहिराइमा उत्पन्न भएको थियो। प्रारम्भिक रूपमा जारी गरिएको सुनामी चेतावनी केही समयमै हटाइए पनि अन्दाजी 70 सेन्टिमिटर उचाइका छाल देखा परेको पुष्टि गरिएको छ।


प्रधानमन्त्री साने ताकाइचीले कम्तीमा 7 जना घाइते भएको जानकारी दिँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छन्। उनले सम्भावित थप कम्पनको जोखिम आगामी एक हप्तासम्म उच्च रहने बताएका छन्। “घरभित्रका सामान सुरक्षित तरिकाले स्थिर राख्नुस् र आवश्यक परे तुरुन्त बाहिर निस्कन तयार बस्नुस्,” उनले भनिन्।


यसैबीच, सरकारले संकट व्यवस्थापन केन्द्रमार्फत आपतकालीन संयन्त्र सक्रिय गर्दै क्षति मूल्यांकन, उद्धार तथा राहत कार्य अघि बढाएको छ।


उत्तरी तटीय क्षेत्रमा केही बुलेट ट्रेन सेवा अस्थायी रूपमा रोकिएका छन्। हिगासिडोरी, ओनागावा र फुकुशिमा परमाणु केन्द्रहरूले भने हालसम्म कुनै असामान्यता नदेखिएको बताइएको छ।


विश्वका सबैभन्दा भूकम्प–सम्भावित क्षेत्रमध्ये पर्ने जापानमा साना–ठूला कम्पन प्रायः हरेक पाँच मिनेटमा महसुस हुने गरेको छ।

प्रतिक्रिया