माछापुच्छ्रे क्यापिटलले एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्कासन गर्दै

काठमाडौं, – माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ। क्यापिटलले फागुन २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाई बिक्रीमा ल्याउने घोषणा गरेको छ। यो फण्ड १२ वर्षे बन्दमुखी योजना अन्तर्गत सञ्चालन हुनेछ।

यस फण्डका १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशत (१ करोड ६८ लाख इकाई) कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई सुरक्षित गरिएको छ भने १ प्रतिशत (१२ लाख इकाई) योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

फण्डको इकाईमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

म्युचुअल फण्डको लागि गरिएको क्रेडिट रेटिङ अनुसार, केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई ‘CARE NP BBB+’ इस्यूअर रेटिङ प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘IRN AMC Quality 3’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया