जोमसोम— मुस्ताङमा शुक्रबार देखि सुरु नवौं राष्ट्रपति रनिङशील्डको १५ सय मिटर छात्र÷छात्रा दौड प्रतियोगितामा नालान्दा र योगेन्द्र च्याम्पियन बनेको छ । यी दुबै थासाङ—१ टुकुचेमा अवस्थित विद्यालय हुन् ।
नालान्दा बुद्धिस विद्यालय संस्थागत विद्यालय हो भने योगेन्द्र माध्यमिक सामुदायिक विद्यालय हो । प्रतियोगिताको पहिलोदिन भएको १५ सय मिटर दौडमा नालान्दा बुद्धिस विद्यालयका छात्र सोनाम छिरिङ राईले ५ जना प्रतिस्पर्धीलाई उछिन्दै च्याम्पियन बनेका हुन् । छात्रातर्फ योगेन्द्र माध्यमिक विद्यालयकी सम्झना विकले ५ जना प्रतिस्पर्धीलाईपछि पार्दै च्याम्पियन बनेकी हुन् ।
छात्रतर्फको १५ सय मिटर दौडमा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका रितिक थकाली दोश्रो भए भने जनहित माध्यमिक विद्यालयका रिचार्स परियार तेश्रो भए ।छात्रातर्फकै १५ सय मिटर दौडमा जनहित माध्यमिक विद्यालयकी निशा विक दोश्रो भईन् भने जनआदर्श अमरसिंह माध्यमिक विद्यालयकी सुनिता थकाली तेश्रो भईन् ।
१५ सय मिटर दौडमा प्रथम,द्धितिय र तृतीय स्थान हासिल गर्ने छात्र,छात्रा खेलाडीहरुले मेडल,ट्रफी र प्रमाणपत्र पाएका छन् । प्रतियोगिता शनिबार समापन हुने जनाईएको छ ।