रातो मच्छिन्द्रनाथको रथका पुराना पाङ्ग्राहरू जावलाखेलमा प्रदर्शन

 Aama Darshan News – ललितपुर, २०८२ असार ९ गते


ललितपुर महानगरपालिका–४ स्थित जावलाखेलको सडक किरानामा हाल वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथमा पहिले प्रयोग गरिएका पुराना पाङ्ग्राहरू राखिएका छन्। यी पाङ्ग्राहरू मच्छिन्द्रनाथ जात्राको सांस्कृतिक र ऐतिहासिक पक्षसँग जोडिएका महत्वपूर्ण सम्पदाका प्रतीक हुन्।


रथ तान्ने क्रममा पटक–पटक प्रयोगमा ल्याइएका यी पाङ्ग्राहरू समयको क्रमसँगै विस्थापित भए पनि हाल सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको हो। मच्छिन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा पुरानो र लामो जात्रामध्ये एक हो, जसले ललितपुरको संस्कृति, परम्परा र सहिष्णुताको प्रतिनिधित्व गर्छ।


ललितपुर महानगरपालिकाले रातो मच्छिन्द्रनाथ संग्रहालय निर्माणको तयारी गरिरहेको जानकारी दिएको छ। संग्रहालय निर्माण सम्पन्न भएपछि यी पुराना पाङ्ग्राहरूलाई स्थायी रूपमा संग्रहालयमै राखिनेछ, जसले भावी पुस्तालाई ऐतिहासिक र सांस्कृतिक चेतना दिलाउने अपेक्षा गरिएको छ।


स्थानीयबासी तथा जात्रामा सहभागी बटुक, पुजारी र परम्परागत कारीगरहरूले यस्तो पहललाई स्वागत गर्दै भनेका छन्, “पुराना पाङ्ग्राहरू हेर्दा जात्राको गौरवशाली इतिहास सम्झना आउँछ। संग्रहालय बनेपछि यो हाम्रो सम्पदाको संरक्षण हुनेछ।”


प्रतिक्रिया