हरिनगरमा तनाव दोहोरिएर फेरि झडप हुँदा आइतबार डिएसपी नवीनकृष्ण भण्डारीसहित नौ जना प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएका छन्यो घटनासँगै प्रशासनले शनिबार साँझदेखि खुकुलो पारेको कर्फ्यू पुनः कसिलो पारेको छ।
दुई समूहबीच भएको झडपले अवस्था असामान्य बनेपछि शुक्रबार सुनसरी जिल्ला प्रशासनले हरिनगर, देवानगन्ज, कोशी र भोक्राहा नरसिंह गाउँपालिका तथा इनरूवा नगरमा कर्फ्यू आदेश जारी गरेको थियो। १९ प्रहरीसहित २९ जना घाइते भएको सो घटनापछि जारी कर्फ्यूले थप तनाव टारेको थियो।
शनिबार सुनसरीमा भएको सर्वपक्षीय भेलाले छानबिन समिति गठन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेहरूको उपचार गर्ने, सदभाव र्याली आयोजना गर्ने लगायतका सहमति गरेको थियो। सहमतिपछि पाँच स्थानीय तहमा लगाइएको कर्फ्यूलाई प्रशासनले खुकुलो बनाएको थियो।
सोही अनुसार सबैतिर अवस्था सामान्य बन्दै गएको थियो। शनिबार बिहान १० बजे हरिनगरमा सर्वपक्षीय छलफल चलिरहेका बेला एउटा समूह पुगेर एक्कासि नाराबाजी गर्न थालेपछि अवस्था फेरि तनावपूर्ण बनेको हो।
'हामी छलफल गरेर बसिरहेका थियौं,' इनरूवाका बासिन्दा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले भने, ‘त्यसपछि एउटा समूहले आएर नाराबाजी गर्न थाल्यो। स्थानीय तहका प्रमुखहरूको गाडीमा तोडफोड गर्न थाल्यो। त्यसपछि तनाव सुरू भयो।'
जिल्ला प्रहरी प्रमुख एसपी विपीन रेग्मीका अनुसार त्यस क्रममा भएको झडपमा डिएसपी भण्डारीसहित नौ जना प्रहरी घाइते भएका छन्। उनका अनुसार डिएसपी भण्डारीको खुट्टामा चोट लागेको छ।
स्थिति नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर र २९ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।
सर्वपक्षीय भेला स्थलमा नारा लगाउँदै आएकाहरूलाई स्थानीयबासी कसैले नचिनेको र उनीहरूले सादा पोसाकमा रहेका दुई जना प्रहरीलाई कुटपिट गरी हतियार लुट्ने प्रयास गरेको पनि प्रहरीले जानकारी दिएको छ। त्यस क्रममा प्रदर्शनकारीले प्रहरीको साथमा रहेको सात राउण्ड गोली लोड भएको पेस्तोल लुटेका थिए। तर प्रहरीले तत्कालै फिर्ता लिएको थियो।
'हामीले चिन्दै नचिनेका मान्छेहरू आएर एक्कासि नाराबाजी गर्न थाले। गाडीहरूमा तोडफोड प्रयास पनि गरे,' हरिनगरकै बासिन्दा रमेश श्रेष्ठले भने, 'आजको भीड हेर्दा ती अन्यत्रै कतैबाट आएको जस्तो देखियो।'
शुक्रबार झडप भएको ठाउँमा घाइते भएकाहरू, उनका आफन्तहरूसहित राम्रोसँग छलफल चलिरहँदा एक्कासि कहिल्यै नचिनिएकाहरूको हुल आएर अवस्था बिथोलेको उनको भनाइ थियो।
'यहाँ सबै ठीकठाक भइरहेको थियो। अवस्था सामान्य बन्दै गइरहेको थियो,' श्रेष्ठले भने, 'बाहिरबाट आएकाहरूले फेरि झडप गराए। ती को हुन्, किन यहाँ तनाव गराइरहेका छन् प्रशासनले खोजोस्।'
शनिबारको सर्वपक्षीय सहमतिपछि सबैतिर कर्फ्यू खुकुलो पारेको प्रशासनले आइतबारबाट हरिनगरका सबै र देवानगन्जका दुई वडामा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरका सबै वडाहरूमा र देवानगन्ज गाउँपालिकाका दुई वटा वडाहरू वडा नम्बर १ र ७ मा कर्फ्यू जारी नै रहेको जनाएको छ।