सांसद भट्टराईद्वारा पाथीभरा केबलकार विवाद समाधानका लागि वार्ताको माग

काठमाडौं,  – प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न वार्ता र संवादको माध्यम अपनाउनुपर्ने बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सांसद भट्टराईले स्थानीय नागरिक, कम्पनी, र सरकारबीचको समन्वय आवश्यक रहेको बताउँदै प्रभावित क्षेत्रका नागरिकलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने धारणा सार्वजनिक गरे।

झडप र घाइतेहरूको उपचारका लागि पहल गर्न आग्रह

केबलकार निर्माणका क्रममा उत्पन्न तनावका कारण भएको झडपमा घाइते भएका नागरिकहरूको तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उनले माग गरे। साथै, लोकतान्त्रिक पद्धतिमा विरोध गर्ने अधिकार सुरक्षित भए पनि त्यसलाई शान्तिपूर्ण र सभ्य तरिकाले अभिव्यक्त गर्नुपर्ने उनले उल्लेख गरे।

स्थानीयहरूका माग सम्बोधन गर्नुपर्ने सुझाव

सांसद भट्टराईले केबलकार कम्पनीलाई स्थानीय जनताका हकहितलाई प्राथमिकता दिन आग्रह गर्दै निम्न सुझावहरू राखे:

ताप्लेजुङका ज्येष्ठ नागरिक (७० वर्षभन्दा माथि), १० वर्ष मुनिका बालबालिका, र अपाङ्ग व्यक्तिहरूलाई केबलकारमा निःशुल्क यात्रा सुविधा दिनुपर्ने।

ताप्लेजुङका स्थानीय बासिन्दालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने।

केबलकार सेवाको शुल्कमा स्थानीयलाई ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने।

स्थानीय शिक्षा, स्वास्थ्य, र रोजगारीको क्षेत्रमा केबलकार कम्पनीले विशेष योगदान गर्नुपर्ने।

समस्या समाधानका लागि सर्वपक्षीय समिति गठनको प्रस्ताव

भट्टराईले केबलकार कम्पनी, स्थानीय समुदाय, र सरकारबीच समन्वय गर्न सर्वपक्षीय समिति गठन गर्नुपर्ने सुझाव दिए। उनका अनुसार, सामाजिक उत्तरदायित्व कोष, राजस्व, र स्थानीय करको उचित परिचालनका लागि आन्दोलनरत पक्षको समेत प्रतिनिधित्व रहने गरी स्थानीय तहको नेतृत्वमा समिति बनाइनु आवश्यक छ।

साथै, केबलकार निर्माण कार्यको अनुगमनका लागि अर्को छुट्टै समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी रूपमा अघि बढाउनुपर्ने उनले बताए।

पर्यावरणीय मुद्दाबारे प्रस्टिकरण

पाथीभरा केबलकार परियोजना सम्बन्धमा बाहिर आएको "२५ हजार रुख कटान हुने" भन्ने हल्ला गलत भएको सांसद भट्टराईले बताए। उनका अनुसार, २ हजार ११२ वटा मात्र रुख तथा पोल हटाइने योजना छ।

साथै, उनले पाथीभरा मन्दिर परिसरमा कुनै होटल वा रेस्टुरेन्ट नबनाइने प्रतिवद्धता जनाए।

सरकारलाई आग्रह: वार्ता गरी समस्या समाधान होस्

सांसद भट्टराईले सरकारसँग गिरफ्तार परेकाहरूलाई तत्काल रिहा गर्न र घाइतेहरूको उपचारको व्यवस्था गर्न आग्रह गरे। साथै, उनले आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै वार्ताका माध्यमबाट समाधान खोज्न आह्वान गरे।

प्रतिक्रिया