असार ३१ देखि १४.२ केजी ग्यास उपलब्ध

पूर्ण आकारको एलपी ग्यास सिलिन्डर पुनः बिक्रीमा, असार ३१ देखि १४.२ केजी ग्यास उपलब्ध

काठमाडौं। नेपाल आयल निगमले आगामी असार ३१ गतेदेखि देशभर पुनः साविककै १४.२ केजीको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले आइतबार जारी गरेको विज्ञप्तिमार्फत पूर्ण आकारको ग्यास सिलिन्डर पुनः बजारमा ल्याउन लागिएको जनाएको हो।


नयाँ व्यवस्थाअनुसार उपभोक्ताले प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ तिरेर १४.२ केजीको एलपी ग्यास खरिद गर्न सक्नेछन्।

यसअघि आपूर्ति प्रणालीलाई सहज बनाउन भन्दै निगमले २०८२ साल फागुन २९ गतेदेखि ७.१ केजीको आधा सिलिन्डर मात्र बजारमा पठाउने व्यवस्था लागू गरेको थियो। तर, इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरी हबबाट ग्यास लोड व्यवस्थामा सुधार आउनुका साथै बजारमा पूर्ण आकारको सिलिन्डरको माग बढेकाले पुरानै व्यवस्था पुनः लागू गरिएको निगमले जनाएको छ।

निगमका अनुसार बजारबाट ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा फिर्ता नभएसम्म केही समय ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बजारमा सँगै रहनेछन्। त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरिएको छ।

यसैबीच, भारतबाट एलपी ग्यासको आयात नियमित र सहज रूपमा भइरहेकाले बजारमा ग्यासको अभाव नहुने निगमले स्पष्ट पारेको छ। साथै, उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगरी दैनिक आवश्यकताअनुसार मात्रै खरिद गर्न पनि निगमले अपिल गरेको छ।

प्रतिक्रिया