न्युरोडको रञ्जना मलमा मालिकार्जुन सुन पसल समेत सञ्चालन गर्दै आएका बडूले लामो समयदेखि सुन तस्करी गर्दै ।

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति काठमाडौंको न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सातजनालाई पक्राउ गर्‍यो । उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसी नेतृत्वको टोलीले एक करोड ४३ लाख ६० हजार नगद र एक हजार ७६८.२५ ग्राम सुन बरामद गरेको हो ।

तस्करीको सुन र नगदसहित पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टेलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

Gold-1714125960.jpgउपत्यका प्रहरी कार्यालयको टोलीले करिब तीन हप्ता लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । एसएसपी राठौरका अनुसार तस्करीको सुनसहित पक्राउ परेकाहरूमध्ये मुख्य आरोपी दार्चुलाका बडू हुन् । न्युरोडको रञ्जना मलमा मालिकार्जुन सुन पसल समेत सञ्चालन गर्दै आएका बडूले लामो समयदेखि सुन तस्करी गर्दै आएको खुलेको हो ।

प्रहरीले बरामद गरेको सुन चिनियाँ तस्करी समूहले बडूलाई दिएको खुलेको छ । प्रहरीको अनुसन्धानबाट उक्त सुन १० दिनअघि मात्रै काठमाडौं भित्रिएको खुलेको छ । बडूको साथबाट बरामद भएको नगद रुपैयाँ समेत तस्करीको सुन बिक्रीवापत आएको प्रहरीको दाबी छ । 

प्रतिक्रिया