लाहोर । पाकिस्तानको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दल तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी) का वरिष्ठ धर्मगुरु नेता जहीरुल हसन शाहलाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ।
अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलका अनुसार सोमबार लाहोरस्थित आतंकवादविरोधी अदालतले शाहलाई दोषी ठहर गरेको हो। यो सजाय एक वर्षभन्दा बढी समयअघि पाकिस्तानका तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको जनाइएको छ।
शाहलाई गत वर्ष पक्राउ गरिएको थियो। उनीमाथि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक भिडियोमा तत्कालीन प्रधानन्यायाधीश इसाको टाउको काट्ने व्यक्तिलाई एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३६ हजार अमेरिकी डलर) इनाम दिने घोषणा गरेको आरोप लागेको थियो।
प्रधानन्यायाधीश इसाले गत वर्ष ईशनिन्दासम्बन्धी मुद्दामा अल्पसङ्ख्यक अहमदी समुदायका एक व्यक्तिलाई जमानत दिएपछि कट्टरपन्थी धार्मिक समूहहरूको तीव्र आलोचना सामना गर्नुपरेको थियो। अहमदी धर्मलाई इस्लामको एक शाखा मानिए पनि पाकिस्तानको संसद्ले सन् १९७४ मा अहमदी समुदायलाई औपचारिक रूपमा गैर–मुस्लिम घोषणा गरेको थियो।
त्यसयता अहमदी समुदायका घर तथा पूजा स्थलहरू प्रायः सुन्नी उग्रवादी समूहहरूको आक्रमणको निशानामा पर्दै आएका छन्, जसले उनीहरूलाई विधर्मी ठान्ने गरेका छन्।
प्रतिरक्षा पक्षका वकिल मकसुद–उल–हकका अनुसार अदालतले शाहको अभिव्यक्ति र सार्वजनिक आह्वानले समाजमा घृणा फैलाएको र हिंसालाई प्रोत्साहन दिएको ठहर गर्दै कडा सजाय सुनाएको हो।
– आमा दर्शन न्युज डेस्क
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय