जोमसोम—हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर र मुस्ताङको घरपझोङ—५ ठिनी स्थित कोतघरमा दशैं टिका हुने भएको छ । मुक्तिनाथमा दिउँसो ११ बजेर २ मिनेट जाँदा दशैं टिका शुभारम्भ हुनेछ भने ठिनी कोतघरमा दिउँसो १ बजे दशैं टिका हुने बताईएको छ ।
मुस्ताङ घुम्ने, मुक्तिनाथको दर्शन गर्ने र यही मेसोमा मुक्तिनाथ पुगेर दशैं टिका लगाउने विशेष योजना बनाएर आउने भक्तजनहरुलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टिका लगाईदिनेछन् ।धार्मिक दृष्ट्रिकोणले पनि मुक्तिनाथको ठुलै महिमा छ ।मुक्तिनाथमा टिका लगाउन चाहनेहरुलाई पुजारीले दशैं टिका लगाईदिने तयारी भईरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनका अनुसार मुक्तिनाथमा बर्सेनि विजया दशमीको दिन दशैं टिका हुन्छ ।
परिवारबाट बिछोडिएका,टिका लगाईदिने आफन्तजन नभएका र स्वतः स्फूर्त रुपमा मुक्तिनाथमा पुगेर टिका लगाउने चाहने भक्तजनहरुको मुक्तिनाथ मन्दिरमा भीडभाँड हुने गर्छ । गतवर्ष मुक्तिनाथमा करिव ३५ सय जनाले दशैं टिका लगाएका थिए । यसवर्ष करिव २५ सयले दशैं टिका लगाउने अनुमान गरिएको छ । दशैं टिका लगाउन पर्यटक तथा स्थानीबासी समेत मुक्तिनाथमा जाने गरेको पाईएको छ ।
यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी कोतघरमा पनि सामुहिक दशैं टिका हुँदैछ । त्यहाँ सदिंयौं वर्षदेखि बर्सेनि ज्येष्ठ नागरिकहरुबाट सामुहिक दशैं टिका लगाउने कार्यक्रम हुन्छ । नवरात्रको अष्ठमीका दिन पशु बली दिएर कोतघरमा राखिएका हातहतियारहरुलाई पुजाआजा गरिन्छ ।ठिनी कोतघरमा टिका लगाउन घरपझोङ गाउँपालिका आसपासका नागरिक दशैं टिका लगाउने ठिनी गाउँ आउने गरेको स्थानीय निरज थकालीले जानकारी दिए ।
अधिकाँश बुद्धिस धर्मको बाहुल्यता रहेको मुस्ताङमा आदीवासी जनजाती मध्ये ठिनी गाउँमा मात्र दशैं टिका लगाउने गरिन्छ । यहाँका दलित समुदाय र मुस्ताङमा अस्थायी बसोबास गर्ने मिश्रित समुदायले पनि आफ्नै धार्मिक परम्परा अनुसार दशैं टिका लगाउने गर्छन ।
मुस्ताङमा कुल जनसंख्याको ८० प्रतिशत बढीले दशैं पर्व मान्दैनन् । यद्यपी दशै पर्वमा आपसमा भेटघाट गर्ने,रमाईलो गर्ने र स्वादिष्ट परिकार बनाएर खाने प्रचलन छ । दशैं पर्व नमनाएपनि मुस्ताङीहरुलाई दशैं पर्वलाई धार्मिक सम्मान र सद्भाव राख्ने गरेको पाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार