पेसी जानकारीपत्रमा हस्ताक्षर नगरेपछि अदालतको कडा निर्देश: रवि लामिछाने र छविलाल जोशीले किन गरे अस्वीकार

रुपन्देही, आमा दर्शन न्युज – पोखरास्थित उच्च अदालतले सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई पेसी जानकारीपत्रमा हस्ताक्षर नगर्नुको कारण खुलाउन आदेश दिएको छ।

जिल्ला कारागार रूपन्देहीमा पुर्पक्षका लागि थुनामा रहेका दुबै व्यक्तिले आइतबार पठाइएको पेसी जानकारीपत्रमा हस्ताक्षर नगरेपछि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासले स्पष्टिकरण मागेको हो।

इजलासको आदेशमा भनिएको छ:

"रवि लामिछाने र छविलाल जोशीले पत्र बुझ्न इन्कार गरेको कारण हस्ताक्षर नभएको हो कि अन्य कारणले? विवरणसहित जानकारी गराउनु। जानकारी पाएको भए भरपाई पठाउनु।"

यसअघि लामिछानेका कानुन व्यवसायीहरूले पेसीको जानकारी नदिइकन सुनुवाइ अघि बढाइएको भन्दै अदालतमै आपत्ति जनाएका थिए। वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ र सुशीलकुमार पन्तको तर्फबाट उठाइएको आपत्तिपछि अदालतले कारागारलाई जानकारी गराउन आदेश दिएको थियो।

सहकारी ठगीको गम्भीर मुद्दा

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा रवि लामिछाने, पूर्व डिआइजी जोशी, ग्यालेक्सी टेलिभिजनसँग सम्बन्धित अधिकारीहरू र सहकारीका संस्थापकहरू समेत संलग्न रहेको अनुसन्धानमा देखिएको छ। सोही प्रकरणमा लामिछानेलाई ३ करोड ३७ लाख, जोशीलाई ५ करोड २६ लाख बिगो लागेको भन्दै अभियोग पत्र दायर गरिएको छ।

यसै मुद्दामा सरकारी वकिलको कार्यालयले अदालतको धरौटी आदेशविरुद्ध उच्च अदालत गएका छन् भने प्रतिवादी पक्षले पनि साधारण तारेखमा छुट पाउन निवेदन दिएका छन्।

१८ हजारभन्दा बढी पीडित, १ अर्ब ३५ करोडभन्दा बढी अपचलन

संसदीय छानबिन समितिका अनुसार सूर्यदर्शन सहकारीमा जम्मा १८,७०० सदस्यका १ अर्ब ३५ करोडभन्दा बढी रुपैयाँको अपचलन भएको छ। गैरसदस्यलाई ऋण दिने, कम्पनीहरूमा लगानी गर्ने जस्ता अवैध कार्यमा रकम प्रयोग भएको निष्कर्ष छ।

थप प्रतिवादी अझै फरार

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई लगायत थुप्रै प्रतिवादी अझै फरार छन्।


आमा दर्शन न्युज निरन्तर सहकारी ठगीका मुद्दा र पीडितको पक्षमा खबरदारीका साथ उभिन्छ। तपाईंको आवाज, हाम्रो प्रतिबद्धता।

रिपोर्टिङ: आमा दर्शन संवाददाता, रूपन्देही

प्रतिक्रिया