हितबहादुर तामाङ भन्छन्: भ्रष्टाचारलाई संस्थागत गर्ने दल एमाले र भ्रष्टाचारीलाई संरक्षण गर्ने नेता केपी ओली हुन्

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले होस गुमाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अभिव्यक्ति दिइरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो कार्यकालमा भ्रष्टाचारीको विरुद्धमा अभियान नै चलाएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले विभिन्न आरोप लगाएकोप्रति असन्तुष्टि जनाउँदै यस्तो टिप्पणी गरेका हुन् ।


साथै, उनले संस्थागत रुपमा भ्रष्टाचार गर्ने पार्टी एमाले र भ्रष्टाचारीलाई संरक्षण गर्ने नेता ओली रहेको आरोप लगाए । उनले भने, ‘अहिलेसम्म संस्थागत रुपमा भ्रष्टाचार गर्ने पार्टी कुनै छ भने त्यो भनेको नेकपा (एमाले) नै हो पहिलो नम्बरमा । यदि भ्रष्टाचारीलाई खुलम्खुला रुपमा संरक्षण गर्ने कोही छन् भने त्यो केपी ओली नै हो भन्ने कुरा घामझैं छर्लङ्ग छ,’– उनले भने, ‘मैले धेरै कुरा भन्नु भन्दा पनि अहिले केपी ओलीको होस हराउँदै गएको छ । होस हराउँदा के बोल्न हुन्छ र के बोल्न हुँदैन भन्ने कुरा स्वयं व्यक्तिलाई थाहा हुँदैन । अहिले निद्रामा बोलेको हो कि कुन अवस्थामा बोलेको हो भन्ने कुरा केपी ओली आफैंलाई थाहा नहुने अवस्था सिर्जना भएको छ ।’


साथै, फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेर दुःख दिइरहेको बताए । नेता तामाङले आरोप लागेपछि अनुसन्धान गर्नुपर्ने कुरामा आफूहरुको कुनै आपत्ति नरहेको बताए । तर, लामिछानेको मानवअधिकार हनन् हुनेगरी विभिन्न जिल्ला घुमाइएको र दुःख दिइएको बताउँदै उनले यसमा आफूहरु टुलुटुलु् हेरेर बस्न नसक्ने बताए ।


‘रास्वपाका नेतालाई अहिले एउटा आरोप लगाइएको छ, सहकारी ठगी सम्बन्धमा । त्यो एउटा छानविनको प्रक्रियामा छ । त्यसको अन्तिम निर्क्यौल अदालतले गर्ने कुरा हो । तर, सरकारले अस्वभाविक ढंगले छानविनको नाममा विभिन्न जिल्लाहरुमा गुडियालाई प्रदर्शन गर्न लिएर हिँडेकोजस्तै गरिरहेको छ । यसले राष्ट्रिय बेइज्जत गरिराखेको छ । जो कोही अन्यायमा पर्दा र मानवअधिकार हनन हुँदा हामी टुलुटुलु् हेरेर बस्न हुँदैन । लोकतन्त्रको उपहास कसैले पनि गर्न हुँदैन,’– उनले भने ।


सहकारी ठगीमा लामिछानेलाई यतिधेरै दुःख दिइँदा अन्य आरोपी हरु भने आरामसाथ बसिरहेको उनले बताए । वर्तमान सरकारले सहकारी ठगीका आरोपितहरु सबैलाई समान व्यवहार गरेर अनुसन्धानको दायरामा नल्याएको उनको भनाइ छ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पनि सहकारी ठगीमा मुद्दा दायर भएको बताउँदै उनले भने, ‘रवि लामिछानेलाई अनुसन्धानको नाममा यतिधेरै दुःख दिइँदा अरु आरामसाथ बसिरहेका छन् । सबैलाई समान हिसाबले कारबाही गरेर देखाउनुभए त अहिले यो समस्या नै आउँदैन थियो । एमालेको एक जना नेताको श्रीमतीविरुद्ध मुद्दा दायर भएको भन्ने पनि आएको छ ।’

प्रतिक्रिया