सर्वोच्च अदालतप्रति प्रश्न उठाउँदै ज्ञानेन्द्र शाहीले लेखे– “न्याय पाखा र काखा हुन्छ?


काठमाडौं, – रास्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्र शाहीले हालको न्यायिक प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत एक भावुक अभिव्यक्ति सार्वजनिक गर्दै उनले देशमा निष्पक्ष न्याय नभएको आरोप लगाएका छन्।


शाहीले लेखेका छन्, “संसारभरिका सबैले साथ छोडे पनि जन्मदिने आमाले कहिले पनि साथ छोड्दिनन्। संसार नै विरुद्धमा हुँदा पनि सत्यको पक्षमा न्यायको मन्दिर अदालतको ढोका खुला हुन्छ भन्ने सुनेको थिएँ। तर आज म सोध्न चाहन्छु – अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ?”


उक्त अभिव्यक्तिमा शाहीले सत्तापक्षका सहकारी ठगीमा संलग्न भनिएका व्यक्तिहरूलाई बाहिर राखेर छानबिन गर्ने तर पूर्व गृहमन्त्री तथा सांसद रवि लामिछानेलाई बाहिर राखेर छानबिन गर्न नमिल्ने सवाल उठाएका छन्। उनले सर्वोच्च अदालतका सम्माननीय न्यायाधीशहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै प्रश्न गरेका छन्, “सम्माननीय सर्वोच्च अदालतका श्रीमानज्यूहरू, यसको जवाफ दिनुस्। इतिहासले यसको जवाफ माग्नेछ।”


राजनीतिक वृत्तमा शाहीको यो अभिव्यक्ति चर्चाको विषय बनेको छ। केही विश्लेषकहरूले यसलाई निष्पक्षता र पारदर्शिताप्रति उठाइएको उचित प्रश्न ठानेका छन् भने केहीले यसलाई न्यायपालिकामाथि अनावश्यक दबाब सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन्।


स्मरण रहोस्, हाल सहकारी काण्ड र त्यसमा संलग्न राजनीतिक नेताहरूको छानबिनलाई लिएर देशभर बहस चलिरहेको छ। यसै सन्दर्भमा शाहीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्

प्रतिक्रिया