इटहरी, साउन १०। इटहरी उपमहानगरपालिका वडा नं. १६ मा अवस्थित बालग्राम टोल विकास समितिद्वारा आयोजित विशेष उत्प्रेरणा कार्यक्रममा यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका ६६ जना विद्यार्थीलाई सम्मान गरिएको छ।
समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बालग्राम क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिँदै उत्प्रेरणा प्रदान गरिएको थियो।
कार्यक्रममा शिक्षाविद् तथा प्राध्यापक डा. दिवाकर रेग्मी, शिक्षाविद् ममता पराजुली र चर्चित मोटिभेसनल वक्ता तथा कलाकार रमेश प्रसाईंले प्रेरणादायी मन्तव्य प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सकारात्मक सोच, आत्मविश्वास र स्पष्ट लक्ष्यका साथ अघि बढ्न सुझाव दिएका थिए।
प्रमुख अतिथि सांसद चौधरीले बालग्राम टोल विकास समितिको सक्रियता र सामाजिक योगदानको प्रशंसा गर्दै भन्नुभयो, “राज्यको उपस्थितिबिना दीगो विकास सम्भव छैन, तर राज्य बिना पनि जनता अघि बढ्न सक्छन् भन्ने प्रमाण बालग्राम टोल विकास संस्था हो।”
उहाँले यस्ता टोलस्तरीय संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै स्थानीय सरकारसँग साझेदारी (पार्टनरशिप मोडेल) मा कार्य गर्न जनप्रतिनिधिहरूलाई सुझावसमेत दिनुभयो।
अध्यक्ष भट्टराईले संस्थाले शिक्षा तथा सामाजिक क्षेत्रमा गर्दै आएको योगदान उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव लोकबहादुर विष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मीप्रसाद बञ्जराले राख्नुभएको थियो।
सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने आईएमई लाइफ इन्स्योरेन्स तरहरा शाखा र रमा पराजुलीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा इटहरी–१९ का वडा अध्यक्ष नारायण चौधरी, कार्यपालिका सदस्य प्रमोद शेर्पा, माया घर इटहरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, सेभेन स्टार क्लबका अध्यक्ष नवराज पौडेल, परिवर्तन एक अभियानका अध्यक्ष तेजप्रसाद घिमिरे (निश्चल), स्थानीय शिक्षक, टोल विकास समिति तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता