कांग्रेसको चुनावी अभियान सुरु, मोहन बस्नेत भन्छन् : कांग्रेस चुनावमा भाग लिने मात्रै होइन जित्नलाई तयार छ

बाह्रविसे, सिन्धुपाल्चोक । आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन हुनेमा संशय भइरहेका बेला नेपाली कांग्रेसले भने आफ्नो चुनावी अभियान सुरु गरेको छ । नेपाली कांग्रेसले सिन्धुपाल्चोकबाट आफ्नो चुनावी अभियान आरम्भ गरेको हो । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको बाह्रविसेबाट नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानको शंखघोष गरेको घोषणा गर्नुभयो ।

अन्य पार्टीहरू चुनाव हुने–नहुनेमा संशय मानिरहेका बेला देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले राजधानीसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत क्षेत्रीय चुनावी सभा सम्पन्न गरिसकेको छ । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिसमा पर्नुभएका कांग्रेस नेता मोहनबहादुर बस्नेतले चुनावी आमसभाको एक भव्य कार्यक्रमका बीच शुक्रबार बाह्रविसेमा उद्घाटन गर्नुभयो ।

नेपाली कांग्रेसको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क्षेत्रीय समितिले आयोजना गरेको सो चुनावी आमसभा आसन्न निर्वाचन लक्षित नेपाली कांग्रेसको मात्रै नभई देशकै पहिलो चुनावी आमसभा हो । यसरी औपचारिक रूपमा अहिलेसम्म आगामी निर्वाचन लक्षित गरी मुलुकका कुनै पनि पार्टीले चुनावी अभियानको थालनी गरेका छैनन् ।

सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न पालिका र वडास्तरबाट आएका हजारौँ कांग्रेस समर्थकहरूको उपस्थितिमा बाह्रविसे बजारको रंगशालामा कांग्रेसको चुनावी सभा आयोजना गरिएको थियो । आमसभामा परिणत हुनुअघि हजारौँ कांग्रेस समर्थकहरूको र्‍यालीले पुरै बाह्रविसे बजार परिक्रमा गरेको थियो । जिल्लाका स्थानीय जातजाति र भाषा–भाषाका सांस्कृतिक झाँकीसहितको र्‍यालीले बाह्रविसे बजार परिक्रमा गर्दा पुरै बजार कांग्रेसको चारतारे झण्डाले भरिएको थियो ।

विभिन्न झाँकीसहितको बजार परिक्रमा गरी जब र्‍याली रंगशाला प्रवेश गर्‍यो तब त्यहाँ खेलाडी र स्वयंसेवकहरूले भव्य स्वागत गरेका थिए । हजारौँको संख्यामा सहभागी भएको र्‍यालीलाई सभामा परिणत गर्दै कांग्रेसले आफ्नो क्षेत्रबाट सिफारिसमा परेका प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारसहित समानुपातिक र राष्ट्रिय सभामा समेत सिफारिस भएका उम्मेदवारलाई प्रस्तुत गरेको थियो ।

कांग्रेसले आयोजना गरेको उक्त क्षेत्रीय चुनावी सभालाई उद्घाटन गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले देशको समसामयिक राजनीति, आगामी निर्वाचन र कांग्रेसको भूमिकाका विषयमा मात्र नभई आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकमा कांग्रेसले आजसम्म जनताको पक्षमा के–के काम गर्‍यो भन्ने फेहरिस्त प्रस्तुत गर्नुभयो ।

बस्नेतले ३२ वर्षसम्म आफ्ना जिल्लामा १०औँ हजार व्यक्तिलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेर निःशुल्क शिक्षाको अवधारणालाई आफूले दशकौँ अघिनै व्यवहारमा उतारेको स्मरण गर्नुभयो । जतिबेला कम्युनिस्टहरूले निःशुल्क शिक्षाको नारा लगाइरहेका थिए, त्यतिबेला त्यो काम आफूले गरिसकेको भन्दै बस्नेतले भन्नुभयो– आज केही नयाँको नाममा, केही पुरानाको नाममा अनेकन शब्दजाल फैलाएर जनतालाई भ्रममा पारिँदैछ, तर कांग्रेस त्यो पार्टी हो जसले जे गर्छ त्यही बोल्छ ।

नेपाली कांग्रेस जुनसुकै बेला र जस्तोसुकै अवस्थामा पनि चुनावका लागि तयार रहेको जनाउँदै बस्नेतले यो आमसभा कांग्रेस चुनावका लागि तयार रहेको सन्देश भएको बताउनुभयो । अरू पार्टी चुनाव–चुनाव भन्दै चर्का भाषण गरिरहेका छन् तर चुनाव भाषणले होइन, मन–वचन–कर्मले लड्नुपर्छ भन्ने उहाँको भनाइ थियो ।

नयाँ भनिएकाहरू अहिले पनि गठबन्धनकै नाममा तमासा देखाइरहेका छन्, न उम्मेदवार सिफारिस भएका छन्, न कुनै स्पष्ट प्रतिबद्धता छ । तर कांग्रेस आफ्ना उम्मेदवारसहित जनतामाझ आइसकेको छ । बस्नेतले भन्नुभयो– “हामी निरन्तर भनिरहेका छौँ, चुनावको वातावरण बनाउने काम सरकारको हो । कांग्रेस जुनसुकै बेला चुनावमा जान तयार छ र बहुमत ल्याएर देखाउँछ।”

आफ्नो सम्बोधनको क्रममा जिल्लाको विकासमा गरिएको विगतको संघर्ष स्मरण गर्दै बस्नेतले भन्नुभयो, कम्युनिस्टहरूले १५ वर्षमा जम्मा ४ करोड बजेट ल्याएका छन् भने हामीले चुनाव जिते पनि हारे पनि सयौँ करोड बजेट यस क्षेत्रमा ल्याएका छौँ । जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा कांग्रेसले ५० वर्षदेखि संघर्ष गरिरहेको र त्यसको परिणाम देखिन थालेको उहाँको भनाइ थियो ।

कांग्रेसले जितेका तीनवटा पालिकामा १२ कक्षा सम्म निःशुल्क शिक्षा सुरु भइसकेको उल्लेख गर्दै बस्नेतले भन्नुभयो, एउटै वडामा दुईवटा स्वास्थ्य चौकी निर्माण भएका छन् । ऊर्जा र पूर्वाधारको क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाले उदाहरणीय काम गरिरहेको र त्यसको नेतृत्व आफूले गरेको उहाँको दाबी थियो ।

कोभिड महामारी नियन्त्रणका लागि निजी पहलमा अक्सिजन प्लान्ट निर्माणदेखि लिएर रातदिन जनताको दुःखमा साथ दिएको कारण जनताले आफूलाई निर्वाचित गराएको बताउँदै आगामी दिनमा पनि जनताले साथ दिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनताका अनुसार नेता बस्नेत स्वयं दुर्घटनामा परे पनि बैसाखी टेकेर जनताको सेवामा जुटिरहनुभएको थियो ।

जिल्लामा हुने कुनै पनि विपद्‌मा राहत र उद्धारका प्याकेजसहित सबैभन्दा पहिला पुग्ने नेता बस्नेत लोकप्रिय र विकासप्रेमी नेताको रूपमा स्थापित भएको स्थानीयहरूको भनाइ छ । जनसेवालाई नै धर्म ठानेर काम गर्ने भएकाले पार्टीले अन्यत्र पठाउँदा पनि जनताले फराकिलो मतले जिताएको उहाँले स्मरण गर्नुभयो ।

“अरू ठाउँ के छ थाहा छैन, तर सिन्धुपाल्चोकमा सरकार कांग्रेसको हो र नेतृत्व मैले गरिरहेको छु,” बस्नेतले भन्नुभयो । जनताको सुख–दुःखमा सधैँ साथ दिएकाले कांग्रेसलाई यहाँ विकल्पविहीन शक्ति बनाएको उहाँको दाबी थियो ।

प्रतिक्रिया