अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जलीको नाममा भएको सरकारी जग्गा हिनामिनासम्बन्धी प्रकरणमा नेपालमाथि अनुसन्धानपछि मुद्दा दायर गरिएको आयोग स्रोतले जनाएको छ।
पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो। आयोगले नेपालमाथि पतञ्जली आयुर्वेद कम्पनीलाई कानुनविपरीत हदबन्दी छुटमा जग्गा उपलब्ध गराउन संलग्न रहेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
२०६६ माघ १८ गते नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालय सञ्चालनको नाममा काभ्रेपलाञ्चोक जिल्लामा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिद गर्न स्वीकृति दिएको थियो।
स्वीकृतिपछि पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकका साँगा, नासिकास्थान र महेन्द्रज्योति गाविस (हाल चलाल गणेशस्थान) मा ५९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेको थियो। तर, सो जग्गामध्ये ३५३ रोपनी १५ आना क्षेत्रफलको जग्गा पछि मन्त्रिपरिषद्बाटै निर्णय गराई भूमिसम्बन्धी कानुनविपरीत काष्ठमण्डप बिजनेस होम्स प्रालिमा बिक्री गरिएको पाइएको छ।
सरकारी छानबिन समितिको प्रतिवेदनले पनि पतञ्जलीले हदबन्दी छुटमा लिएको जग्गा औद्योगिक प्रयोजनमा प्रयोग नगरी अनधिकृत रूपमा बिक्री गरेको ठहर गरेको थियो। सो प्रतिवेदन लामो समय गुपचुप राखिएको थियो।
यस प्रकरणमा अन्य संलग्न अधिकारीहरूबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार