इलाम, – तीन दिनदेखि बन्द रहेको मेची राजमार्गलगायतका यातायात सेवा खुलाउन इलामबासीले दबाब दिएका छन्। यातायात व्यवसायी र मजदुरहरूले वार्ता र सहमतिका माध्यमबाट बन्द खोल्न आग्रह गर्दै, तत्काल यातायात सञ्चालन नभए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
सवारी मजदुरहरूले बिहीबार इलाममा पत्रकार सम्मेलन गर्दै, बन्दले श्रमिक, मजदुर र सर्वसाधारणलाई गम्भीर असर पारेको बताएका छन्। आफ्नो रोजीरोटी बचाउन यातायात सञ्चालन गर्नुपर्ने बाध्यता आएको भन्दै, आन्दोलन तत्काल फिर्ता नभए सवारी साधन कुदाउने घोषणा गरेका छन्।
मजदुर संगठनका करिब २० अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै, जुनसुकै आन्दोलनमा सवारी साधन बन्द गराउने प्रवृत्तिको विरोध गर्दै आन्दोलनको मोडल परिवर्तन गर्नसमेत अनुरोध गरेका छन्। इलाम उद्योग वाणिज्य संघले पनि बन्दको विकल्प खोज्न माग गर्दै, वार्ता र सहमतिबाट समाधान निकाल्न आग्रह गरेको छ। संघका अनुसार, आधारभूत सेवा अवरुद्ध गर्दा समस्याको दीर्घकालीन समाधान ननिस्कने भएकाले आर्थिक स्थायित्व, पर्यटन प्रवर्द्धन र स्थानीय हितका लागि संवादको माध्यम अपनाउनु आवश्यक छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका इलाम, झापा, पाँचथर र ताप्लेजुङ समितिले पनि बन्द खुलाउन माग गरेका छन्। व्यवसायीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै, बन्दका कारण सवारी साधनको किस्ता तिर्नसमेत समस्या परेको जनाएका छन्। सरकारलाई मोटो भन्सार रकम तिरेर खरिद गरिएका गाडी सडकमा निकाल्न नपाउँदा व्यवसायी र श्रमिकलाई ठूलो आर्थिक क्षति पुगेको उनीहरूको गुनासो छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकार रोक्नुपर्ने माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच माघ १२ मा झडप भएको थियो। उक्त झडपमा गोली लागी दुई आन्दोलनकारी घाइते भएका थिए। आन्दोलनकारीहरूले केबलकारले सांस्कृतिक धरोहर नष्ट गर्ने भन्दै, घाइतेको निःशुल्क उपचारलगायत माग राख्दै माघ १५ देखि मेची राजमार्ग, तमोर करिडोर र तेह«थुमबाट ताप्लेजुङ जाने सवारी ठप्प पारेका छन्।
यातायात बन्दका कारण मेची क्षेत्रको जनजीवन प्रभावित भइरहेको छ। व्यवसायी, मजदुर र स्थानीयवासीले वार्ता र सहमतिबाट समाधान खोज्दै यातायात सेवा तत्काल सञ्चालन गरिनुपर्ने माग गरेका छन्।
© Aama Darshan News
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता