काठमाडौं, वैशाख १३ –प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फैलाउनेहरू नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिपछि निरुत्तर बनेको टिप्पणी गरेका छन्।
शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देउवाले थाइल्यान्डबाट फर्किएलगत्तै “सरकार नढल्ने” स्पष्ट अभिव्यक्ति दिएको उल्लेख गरे। उनले भने, “शेरबहादुरजीले विमानस्थलबाटै सरकार ढल्दैन भनेपछि हल्ला फैलाउनेहरू पुर्पुरोमा हात लगाएर थचक्क बसे।”
प्रधानमन्त्री ओलीले देउवाको जवाफले विरोधीहरूको भ्रम चकनाचुर बनाएको बताए। उनका अनुसार देउवाको विदेश यात्राका क्रममा केही तत्वहरूले सरकार ढल्ने अफवाह फैलाउने प्रयास गरेका थिए। “हिजोसम्म आगो बाल्न खोजेका थिए, देउवाजी फर्केपछि सरकार ढल्छ कि भन्ने हल्ला चलाइरहेका थिए,” उनले भने।
प्रधानमन्त्री ओलीले सांसदहरूलाई यस्ता हल्लाप्रति ध्यान नदिई आफ्नो काममा केन्द्रित हुन निर्देशन दिए। उनले “भ्रम फिजाउने तत्वहरू” सधैं सक्रिय रहने उल्लेख गर्दै सांसदहरूलाई मिसन २०८४ को तयारीमा जुट्न आग्रह गरे।
साथै, प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने, “मैले काममा लाग्नुस् भनेको, उनीहरूले प्रधानमन्त्रीले आश मारिसके भन्नु भनेर प्रचार गरे। नेपाली भाषा नबुझेरै यस्तो भ्रम फैलाएको हो कि जस्तो लाग्छ।”
प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन खोज्ने तत्वहरूको भ्रममा नपर्न र देश तथा जनताको सेवामा निरन्तर लागिरहन आग्रह गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय