नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने विषयमा सर्वदलीय सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचारका मुद्दालाई लिएर एकले अर्कालाई खुइल्याउने र धम्क्याउने प्रवृत्तिले जनतालाई आजित बनाएको भन्दै यस विषयमा दलीय सहमति आवश्यक रहेको बताए।
थापाले सुझाव दिए, “सबै दलका नेताहरू एकै ठाउँमा बसेर कुन–कुन फाइल खोल्ने निर्णय गरौं। यसले पारदर्शिता सुनिश्चित गर्नेछ र जनतामा भरोसा कायम हुनेछ।”
उनले हाल भइरहेको फाइल खोल्ने धम्की तथा विवादले जनतामा निराशा ल्याएको उल्लेख गर्दै भने, “कसैले म फाइल खोल्दिन्छु भन्छन्, कसैले फाइल खोल्न लागेकोले यस्तो भयो भन्छन्। यसले जनता आजित भइसके। त्यसैले यसलाई व्यवस्थित गर्नुपर्छ।”
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। सर्वदलीय सहमतिमा भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने गगन थापाको प्रस्तावले अब राजनीतिक वृत्तमा कस्तो प्रतिक्रिया पाउनेछ भन्ने प्रतीक्षा छ