काठमाडौं, चैत १६ – पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा शुक्रबारको प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना नतिर्ने भएका छन्। काठमाडौं महानगरपालिकाले आधिकारिक पत्र काटेर जरिवाना माग गरे पनि पूर्वराजाका निकट स्रोतले उक्त जरिवाना तिर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ।
स्रोतका अनुसार, पूर्वराजा शाह र उनका सहयोगीहरूले जरिवानाको बारेमा संचारमाध्यमबाट मात्र जानकारी पाएका थिए। "शुक्रबार विदाको दिनमा महानगरपालिकाले कसरी यो पत्र तयार गर्यो? त्यो नै शंकास्पद छ। विदाको दिन काम गरेको मान्न पनि पत्र बुझाउनु अघि नै संचारमाध्यममा प्रचार हुनु मेयर बालेन शाहको नियत प्रष्ट पार्छ," स्रोतले टिप्पणी गर्यो। स्रोतका अनुसार, मेयर शाहले जरिवाना उठाउन भन्दा बढी प्रचारबाजी गर्न पत्र काटेको आरोप लगाइएको छ।
प्रदर्शन ‘संयुक्त जनआन्दोलन संयोजन समिति’ का संयोजक नवराज सुवेदीको नेतृत्वमा भएको थियो। तर, जरिवाना भने पूर्वराजा ज्ञानेन्द्रलाई तोकिएको छ। "कुनै कार्यक्रममा सहानुभूति देखाएको आधारमा दोषी देखाउने हो भने कोही पनि दोषी हुन सक्छ," स्रोतले थप्यो।
महानगरपालिकाले पूर्वराजालाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ, जसमा सडकपेटीमा फोहोर फाल्ने, रुखबिरुवा तथा रेलिङ तोडफोड गर्ने, दमकल र अग्नि नियन्त्रकहरूलाई आक्रमण गर्ने लगायतका आरोप समावेश छन्। मेयर बालेन शाहले टिमसँग छलफल गरी निर्मल निवासलाई मुख्य जिम्मेवार मान्दै पत्र काटेको बताइएको छ।
शुक्रबार व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा राप्रपाका नेताहरूको समेत संलग्नता थियो। उक्त प्रदर्शनका क्रममा केही सरकारी गाडी जलाइएका थिए र अन्य सार्वजनिक तथा निजी सम्पत्तिहरूमा क्षति पुगेको थियो। तर, महानगरपालिकाले निजी घर तथा कार्यालयहरूको क्षति मूल्यांकन नगरेको स्पष्ट पारेको छ।
यसअघि, केही महिनाअघि नेकपा एमालेले दरबारमार्गमा गरेको प्रदर्शनमा फोहोर भएको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तोकेको थियो, जुन एमालेले अस्वीकार गरेको थियो। तर, राप्रपाले भने महानगरले तोकेको १ लाख जरिवाना तिरेको थियो।
अब पूर्वराजाले जरिवाना नतिर्ने निर्णयसँगै, महानगरपालिकाले अगाडि के कदम चाल्ने हो भन्ने चासोको विषय बनेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता