काठमाडौं – नेपाल परिवार दलले ईसाई धर्मका प्रणेता प्रभु जिसस क्राइष्टको जन्मदिनको अवसरमा मनाइने क्रिसमस (बडादिन) पर्वका अवसरमा नेपाल तथा विदेशमा रहेका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सह-अस्तित्वको शुभकामना व्यक्त गरेको छ।
पार्टीले जारी गरेको सन्देशमा नेपालको विविध धर्म र संस्कृतिको संगमले एकताको भावना मजबुत बनाएको उल्लेख गर्दै संविधानले सबै नागरिकलाई प्रदान गरेको समान अधिकारको उपयोग गर्दै राष्ट्र निर्माणको अभियानमा लाग्न आग्रह गरेको छ।
सन्देशमा भनिएको छ, “नेपालका सबै धर्मावलम्बीहरूले संविधानद्वारा सुनिश्चित गरिएको धार्मिक स्वतन्त्रता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई आत्मसात गर्दै लोकतन्त्र, गणतन्त्र, र संघीयताको सही कार्यान्वयन र संस्थागत विकासमा योगदान दिनु आवश्यक छ।”
नेपाल परिवार दलले नेपाली समाजमा प्रेम, सामाजिक सद्भाव र एकता बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा सबैको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरेको छ।
सन्देशको अन्त्यमा पार्टीले देशको शान्ति, प्रगति र समृद्धिका लागि सबैलाई शुभकामना व्यक्त गर्दै क्रिसमस पर्वले समाजमा सहिष्णुता र सहकार्यको नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।