एन्फा यू–१६ युथ लिगः सातदोबाटोको लज्जास्पद हार, एनआरटीसँग ९–३ ले पराजित


काठमाडौं । सातदोबाटो युथ क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी) सँग ९–३ को लज्जास्पद हार व्यहोरेको छ। यो सातदोबाटोको प्रतियोगितामा लगातार २४औँ हार हो।

अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको सातदोबाटोले हालसम्म खेलेका २४ खेलमध्ये एक खेलमा पनि जित निकाल्न सकेको छैन।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा एनआरटीको जितमा सुनिल घर्तीमगरले ‘ह्याट्रिक’ पूरा गरे। त्यस्तै, जेनिस घले, सुशान्तकुमार श्रेष्ठ, मौसम दाहाल, सुगम राना, प्रिन्स बिके र अनमोल सुवेदीले समान एक–एक गोल गरे।

सातदोबाटोका लागि सर्जकधोज थापाले दुई गोल गर्दा आर्यन भट्टले एक गोल फर्काए।

खेलको २३औँ मिनेटमा आर्यन भट्टले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लामो समय टिक्न सकेन। २६औँ मिनेटमा एनआरटीका सुनिल घर्तीमगरले बराबरी गोल फर्काए।

३५औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रतामा पुर्‍याए भने ४०औँ मिनेटमा जेनिस घलेले तेस्रो गोल थपे। पहिलो हाफको इन्जुरी टाइममा सुशान्तकुमार श्रेष्ठले गोल गरेपछि एनआरटीले पहिलो हाफ ४–१ को अग्रतामा समाप्त गर्‍यो।

दोस्रो हाफको ५४औँ मिनेटमा सुनिल घर्तीमगरले ह्याट्रिक पूरा गरे। ७४औँ र ७९औँ मिनेटमा सातदोबाटोका सर्जकधोज थापाले दुई गोल गर्दै टोलीलाई ५–३ को स्थितिमा फर्काए पनि एनआरटीको आक्रमण रोकिएन।

८७औँ मिनेटमा मौसम दाहालले छैटौँ गोल गरे भने इन्जुरी टाइममा सुगम राना, प्रिन्स बिके र अनमोल सुवेदीले समान एक–एक गोल गर्दै एनआरटीको ९–३ को फराकिलो जित सुनिश्चित गरे।

यस जितसँगै एनआरटीले २७ अंक जोडेको छ। एनआरटीले २४ खेल खेल्दा ६ जित, ९ बराबरी र ९ हारको नतिजा आत्मसाथ गरेको छ।

प्रतिक्रिया